सिएरा लिओनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन्।
राष्ट्रपति जुलियस माडा बायो भने आगलागीका बेला घटनास्थलमा थिएनन्। उनी एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा छन्।
अग्निनियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन्।
आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन्।
स्टेट हाउसको तेस्रो र चौथो तलामा विस्फोट भएको र दोस्रो तलमा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय समयअनुसार अपराह्न ४ बजे सुरु भएको आगलागीको कारण खुल्न नसकेको बताइएको छ।
सामाजिक सञ्जालमा पोस्ट भिडिओमा ठूलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ।
भिडिओ:
स्थानीय बासिन्दा मोहम्मद कामाराले एएफपीसँग भनेका छन्, ‘शनिबार साँझ भवनको झ्याल र माथिल्लो तलाबाट धुवाँ र आगो निस्केको देखिएको थियो।’
प्रहरीले भवन वरपरका सडकलाई घेराहालेर सुरक्षाकर्मी र सैनिक परिचालन गरेको थियो।
Shares

प्रतिक्रिया