चीनका राष्ट्रपति सी चिनफिङ दक्षिणपूर्वी एसियाका तीन देश भ्रमणको अन्तिम चरणमा बिहीबार कम्बोडिया पुगेका छन्।
मंगलबार भियतनाम र बुधबार मलेसियाको भ्रमणपछि सी बिहीबार कम्बोडिया पुगेका हुन्।
चीनको क्षेत्रीय व्यापार सम्बन्ध बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभाव कम गर्ने प्रयासस्वरूप चिनियाँ राष्ट्रपति सी दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा निस्किएका हुन्।
बिहीबार नोम पेन्हको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित कम्बोडियाका राजा नोरोडोम सिहामोनीले स्वागत गरे।
राष्ट्रपति सीले पूर्वनेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो।
नोम पेन्ह एसियामा चिनका भरपर्दो समर्थक हुन मानेटले सी को भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतीकका रूपमा वर्णन गरेका छन्।
उनले दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताए।
यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए।
उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदै छन्।
चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणापछि विश्वव्यापी रूपमा यस विषयमा बहस र चर्चा भइरहेको छ।
कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिबद्धतासहित पत्र लेखेका छन्।
Shares

प्रतिक्रिया