ग्लोबल


भारतीय नौसेना विनयकी पत्नीको बिलौना: यो मुस्लिम होइन भन्दै गोली हाने

भारतीय नौसेना विनयकी पत्नीको बिलौना: यो मुस्लिम होइन भन्दै गोली हाने

भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको दम्पती र दायाँतर्फ सुरक्षाकर्मीको पोसाकमा विनय।


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १४:१४, काठमाडौँ

विवाह भएको एक हप्तामै मंगलबार जम्मु-कश्मीर हमलामा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवाल मारिएपछि उनकी पत्नी हिमांशी विक्षिप्त भएकी छन्। 

यही अप्रिल १६ मा विवाह गरेका उनीहरू हनिमुन मनाउन सोमबार कश्मीरको पर्यटकीय क्षेत्र पहलगाम पुगेका थिए। तर त्यसको भोलिपल्ट मंगलबार आतंककारीको आक्रमणमा विनय मारिए। पत्नी हिमांशी भने सुरक्षित छिन्। 

आफ्नै आँखाअगाडि आतंकाकारीले गोली हानेर आफ्ना पतिको हत्या गरेपछि उनी ठूलो पीडामा परेकी छन्। उनका बिलौना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

भिडिओमा उनी भनिरहेकी छन्, ‘म श्रीमानसँग भेलपुरी खाइरहेकी थिएँ। एकजना मान्छे आयो र यो मुस्लिम होइन भन्दै गोली हान्यो।’ 

उनले यो आघातबाट आफू अब कहिल्यै बाहिर निस्कने सक्ने हो कि होइन पनि भनेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो २:४५ बजे कश्मीरको पर्यटकी स्थल पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनयसहित २८ जना मारिएका छन्। 

त्यसमा एक नेपाली पनि मारिएका छन् भने अर्का नेपाली घाइते भएका छन्। 

परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार उनी रुपन्देहीको बुटवल-११, कालिकानगरका सुदीप न्यौपाने हुन्। 

यस्तै हमलामा नेपालकी रेनु पाण्डे पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पाण्डे मृतक न्यौपानेकै आमा भएको परराष्ट्रमन्त्री राणाले बताएकी छन्। 

उक्त हमलाको जिम्मेवारी लश्कर-ए-तैयबाको संगठन टीआरएफले लिएको छ। यसले यसअघि पनि जम्मु-कश्मीरमा धेरैपटक आक्रमण गरिसकेको छ।

अहिलेसम्मको अनुसन्धानले पहलगाम आतंकवादी हमलाको षड्यन्त्र पाकिस्तानको रावलकोटमा रचिएको खुलासा गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। 

तर पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणमा आफ्नो देशको कुनै सम्बन्ध नभएको बताएका छन्।

उनले भनेका छन्, ‘यसमा हाम्रो कुनै सरोकार छैन। हामी हरेक किसिमका आतंकवादलाई हरेक स्थानमा अस्वीकार गर्छौं।’

पास्कितान सरकारले पनि विज्ञप्ति जारी गरी घटनाप्रति दुःख त व्यक्त गरेको छ तर जम्मु-कश्मीर भारतले अवैध रूपमा कब्जा गरेको आरोप पनि लगाएको छ।  

उसले विज्ञप्तिमा भनेको छ, ‘भारतले अवैध तरिकाले कब्जा गरेको जम्मु-कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकामा हामी अत्यन्त दुःखी छौँ। हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad