पाकिस्तानले बुधबार दुई दिनभित्र भारतले आफूमाथि सैन्य कारबाही गर्ने ‘विश्वसनीय सूचना’ प्राप्त गरेको बताएको छ। भारतीय सूचनामन्त्री अतातुल्लाह तरारले टेलिभिजनमा वक्तव्य दिँदै २४ देखि ३६ घण्टाभित्र त्यस्तो आक्रमण हुने सूचना पाएको दाबी गरेका थिए।
तरारको वक्तव्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनालाई पहलगाम आक्रमणको जवाफ दिन ‘पूर्ण स्वतन्त्रता दिएको’ एक दिनपछि आएको हो। मोदीले मंगलबार र बुधबार सुरक्षा मामिलासम्बन्धी शृंखलाबद्ध बैठकहरू गरेका थिए।
अप्रिल २२ मा कस्मिरमा २६ जनाको ज्यान जानेगरी भएको आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ। सीमाक्षेत्रमा गोलीबारी चलिरहँदा दुवैले कूटनीतिक संलग्नता घटाएका छन्, द्विपक्षीय सन्धिहरूलाई निलम्बन गरेका छन् भने एकअर्काका नागरिकलाई देशनिकाला गरेका छन्।
पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाही कस्तो प्रकृतिको हुन सक्छ त?
अब भारतले कस्तो खालको कारबाही गर्ला भन्ने स्पष्ट छैन। तर, उसले विगतमा पाकिस्तानविरुद्ध अनेकौँ सैन्य दाउपेच अपनाएको थियो। जुन यसप्रकार छन्ः
गोप्य सैन्य कारबाही
यस्ता कारबाहीको घोषणा गरिँदैन, त्यसैले यस्ता घटनाको पुष्टि समेत हुँदैन। तर, पछिल्ला केही दशकमा भारत र पाकिस्तानले एकअर्काविरुद्ध अनेकपटक गुप्त सैन्य कारबाही गरेका छन्। जसमा शत्रुको सेनालाई निसाना बनाइन्छ।
प्रायः यस्ता आक्रमण बदलाका लागि गर्ने गरिन्छ। शत्रुलाई सन्देश दिन यस्तो उपाय अपनाइन्छ। यद्यपि, यस्ता हमलाको पुष्टि कहिल्यै नहुने हुनाले शत्रु राष्ट्रले जवाफ दिनुपर्ने बाध्यता महसुस गर्दैन। जसका कारण तनाव बढ्ने सम्भावना कम हुन्छ। यस्ता घटना सार्वजनिक भयो भने जवाफी कारबाहीका लागि सरकारमाथि दबाब पर्छ।
प्रचारबाजीसहित सर्जिकल स्ट्राइक
कहिलेकाहीँ सूक्ष्म सन्देश होइन, शत्रुलाई दुनियाँको नजरमा लज्जित तुल्याउनुपर्ने हुन्छ। त्यसका लागि शत्रुमाथि गरिएको आक्रमणलाई सार्वजनिक गरिन्छ।
विगतमा भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक गरेको थियो। पछिल्लो समय २०१६ मा।
त्यतिबेला कस्मिरको उरीमा आतंकवादी आक्रमणमा १७ भारतीय सैनिक मारिएका थिए। त्यसको बदलामा भारतीय सेनाले सीमा पार गरेर पाकिस्तानी ‘लन्च प्याड’मा आक्रमण गरेको थियो।
सो सैन्य कारबाही आतंकवादीहरू फेरि भारतमा घुसपैठ गर्न नसकून् भन्ने सुनिश्चित गर्न गरिएको लेफ्टिनेन्ट जर्नेल रनवीर सिंहले बताएका थिए।
सो सर्जिकल स्ट्राइकमा दर्जनौँ आतंकवादी मारिएको दाबी भारतले गरेको थियो।
हवाइ आक्रमण
फेब्रुअरी २०१९ मा एक आत्मघाती आक्रमणकारीको हमलामा कस्मिरको पुलवामामा ४० जवानको ज्यान गयो। चुनावको सम्मुखमा सो घटना भएको थियो। हमलाको जिम्मेवारी पाकिस्तानमा रहेको जैस ए मुहम्मदले लियो।
यसबाट क्रुद्ध भारतको वायु सेनाले पाकिस्तान नियन्त्रित कस्मिरमा हवाइ हमला गर्यो। भारतले आतंकवादीहरू लुकेर बसेको स्थानमा आक्रमण गरेको र दर्जनौँलाई मारिदिएको दाबी गर्यो।
पाकिस्तानले भने भारतले जंगलमा बम खसाएको र कुनै लडाकु नमारिएको बतायो। आफ्ना विमानले भारतीय विमानलाई लखेटेको पनि पाकिस्तानको दाबी थियो।
तर भोलिपल्ट पाकिस्तानी आकाशमा पाकिस्तानी र भारतीय लडाकु विमानबीच हवाइ युद्ध भयो। जसमा पाकिस्तानले एउटा भारतीय विमानलाई आफ्नो भूमिमा खसाइदियो र भारतीय पाइलटलाई समात्यो। ती पाइलाई केही दिनमा पाकिस्तानले मुक्त गरिदियो।
पाकिस्ताननियन्त्रित भूमि कब्जा
पछिल्ला केही वर्षहरूमा भारतमा पाकिस्तानको नियन्त्रणमा रहेको कस्मिरको हिस्सा कब्जा गर्नुपर्ने आवाज उठिरहेको छ। पहलगाम हमलापछि त्यो आवाज अझै बलियो भएको छ।
पाकिस्तानको नियन्त्रणमा रहेको कस्मिर कब्जा गर्नु भारतको घोषित नीति नै हो। तथापि, पाकिस्तानजत्तिको सैन्य शक्ति भएको मुलुकबाट जमिन खोस्न सम्भव देखिँदैन।
तथापि, इतिहास हेर्ने हो भने भारतले पाकिस्तानबाट विवादित भूमि खोस्ने गरेको छ। १९८४ मा भारतीय सेनाले अपरेसन मेघदूत अन्तर्गत सियाचिन हिमनदी कब्जा गरेको थियो।
नौसैनिक कारबाही
पहलगाम हमलापछि भारतीय नौसेनाले क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गर्यो। अप्रिल २७ मा नौसेनाले पानीजहाजमा आक्रमण गर्ने अभ्यास गरेको जानकारी दिएको थियो।
‘भारतीय नौसेना जुनसुकै समय र स्थानमा राष्ट्रको समुद्री हित रक्षा गर्न युद्धका लागि तयार छ,’ नौसेनाले भनेको छ।
थुप्रै सैन्य विश्लेषकहरूले त्यो परीक्षण पाकिस्तानलाई गरिएको शक्ति प्रदर्शन भएको बताएका छन्।
सम्पूर्ण युद्ध
भारत र पाकिस्तानले दुई मुलुक अस्तित्वमा आएको ७८ वर्षमा चारवटा युद्ध लडिसकेका छन्। त्यसमध्ये तीनवटा कस्मिरलाई लिएर भएका थिए।
बेलायतको उपनिवेश सरकार फर्केको दुई महिनापछि १९४७ मा भारत र पाकिस्तानबीच कस्मिरलाई लिएर पहिलो युद्ध भएको थियो। जतिबेला कस्मिरमा राजा थिए।
पाकिस्तानी मिलिसियाले कस्मिर कब्जा गर्न हमला गर्यो। राजा हरि सिंहले भारतसँग गुहार मागे। नयाँ दिल्लीले सहयोगको वचन दियो तर कस्मिरलाई भारतमा मिसाउने सर्तमा। राजा तयार भए।
त्यो युद्ध १ जनवरी १९४९ मा समाप्त भयो। त्यसयता कस्मिरका दुई हिस्सा भारत र पाकिस्तानको कब्जामा रहँदै आएको छ।
१९६५ मा सीमामा भएको लडाइँ पूर्णयुद्धमा बदलियो। पाकिस्तानी सेनाले युद्धविरामका बेला तय भएको सीमा पार गरेर भारत प्रशासित कस्मिरमा हमला गर्यो। उता भारतीय सेनाले अन्तर्राष्ट्रिय सीमा नाघेर लाहौरतर्फ आक्रमण गर्यो। हजारौँको ज्यान गएपछि राष्ट्रसंघको सहयोगमा युद्ध अन्त्य भयो।
१९७१ मा पूर्वी पाकिस्तानलाई लिएर भारत र पाकिस्तान लडाइँमा होमिए। भारतीय सेनाले बंगलादेशको स्वतन्त्रतामा सघायो। १९७२ मा उनीहरूबीच सिमला सम्झौता भयो, जसमा लाइन अफ कन्ट्रोल स्थापना गर्ने भयो।
१९९९ मा पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल नाघ्दा कार्गिल युद्ध हुन पुग्यो। हिमाली क्षेत्रमा रक्तपातपूर्ण युद्धपछि भारतले पाकिस्तानी सेनालाई आफ्नो सीमाबाट बाहिर लखेट्यो। एजेन्सी
Shares

प्रतिक्रिया