ग्लोबल


नेपाल–ओमान मैत्रीपूर्ण हाइकिङ

नेपाल–ओमान मैत्रीपूर्ण हाइकिङ

नेपालखबर
बैशाख २७, २०८२ शनिबार २१:२४, काठमाडौँ

नेपाली राजदूतावास, मस्कटले नेपाल–ओमान मैत्रीपूर्ण हाइकिङको आयोजना गरेको छ। नेपाली र ओमानी समुदायहरूबीच मैत्री सम्बन्ध विकास गर्ने, स्वास्थ्य प्रवर्द्धन गर्ने र वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो हाइकिङको आयोजना गरिएको दूतावासले जनाएको छ।

ओमानको रियाम पार्कबाट बिहान ५ः२० बजे सुरु भएर मत्रा फोर्ट  हुँदै रियाम पार्कमा फर्केर हाइकिङ अन्त भएको थियो। 

करिब २ घण्टा अवधिको उक्त हाइकिङमा राजदूत डोरनाथ अर्याल, पहिलो ओमानी महिला सगरमाथा आरोही नादिरा अल हारथी, राजदूतावासका कर्मचारीहरू र परिवारका सदस्यहरू, नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरु, ओमानी  पत्रकारहरु तथा सामाजिक सञ्जालमा ख्याति प्राप्त व्यक्तिहरु गरी ४६ जनाको सहभागिता थियो।

ओमानको परराष्ट्र मन्त्रालय मार्फत आपत्कालीन अवस्थामा आवश्यक सुरक्षाको प्रबन्ध गरिएको थियो। हाइकिङ सुरु हुनअघि ओमानी सगरमाथा आरोही नादिरा अल हारथीले हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा बताएकी थिइन्।

ओमानको अत्यन्त रमणीय दृश्य देखिने उक्त हाइकिङ ट्रेलमा सबै सहभागी निकै रमाएका थिए।

सो हाइकिङ रुट प्रायः उत्तर मोहडा पर्ने हुनाले गर्मीको मौसममा पनि बिहान र साँझ सहजै हाइकिङ गर्न सकिन्छ।

वातावरणीय सजगताको लागि उक्त ट्रेलमा भएका प्लास्टिकका बोतल लगायतका फोहोर सहभागिहरूले हाइकिङको क्रममा संकलन गरेका थिए।

राजदूत अर्यालले सहभागी सबैलाई धन्यवाद दिँदै आफूले पनि उक्त हाइकिङ ट्रेलमा धेरैपटक हाइकिङ गरेको, हाइकिङ रुटबाट ओमानको अत्यन्त रमणीय दृश्य देखिने र बाटामा पर्ने रङ्गीबिरङ्गी चट्टानहरू, पानी सहितको खोल्सा, केही रुख बिरुवा आदिले सबैलाई आकर्षण गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad