अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविराम, अझ महत्त्वपूर्ण कुरा युद्ध अन्त्यका लागि 'तुरुन्तै' वार्ता सुरु गर्ने बताएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेको उल्लेख गरेका छन्।
उनका अनुसार पुटिनसँगको कुराकानी 'धेरै राम्रो' रह्यो।
ट्रम्पले लेखेका छन्, "रुस र युक्रेनले तुरुन्तै युद्धविरामका लागि वार्ता सुरु गर्नेछन् र अझ महत्त्वपूर्ण कुरा- युद्धको अन्त्य गर्नेछन्, जसका सर्त दुई पक्षबीचको सहमतिले निर्धारण गरिनेछ।"
ट्रम्पले यसबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि जानकारी गराइएको बताएका छन्।
साथै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबलाई पनि यसबारे जानकारी गराइएको उनको भनाइ छ।
पुटिनले के भने?
पुटिनले शान्तिका लागि रुस युक्रेनसँग 'सम्झौता'का लागि छलफल गर्न तयार रहेको बताएका छन्।
यद्यपि, सम्झौतामा के-कस्ता कुरा समावेश हुनेछन् भन्ने कुरा उनले स्पष्ट पारेनन्।
पुटिनले आफू 'संकटको मूल कारण' सम्बोधन गर्न चाहने बताएका छन्।
जेलेन्स्कीले के भने?
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन, रुस, अमेरिका, युरोपेली संघका देश र बेलायतबीच 'उच्च-स्तरीय' बैठक गर्ने विचार गरिरहेको बताएका छन्।
जेलेन्स्कीले अमेरिकालाई छलफलहरूबाट आफूलाई टाढा नराख्न अपिल पनि गरेका छन्।
बीबीसीका अनुसार उनले भनेका छन्, 'रुसले पनि अर्थपूर्ण वार्तामा संलग्न हुन तत्परता देखाउनु आवश्यक छ।'
Shares

प्रतिक्रिया