ग्लोबल


पाकिस्तानका प्रधानमन्त्रीले पनि हस्ताक्षर गरे अमेरिका-इरान सम्झौतापत्रमा (भिडिओ)

पाकिस्तानका प्रधानमन्त्रीले पनि हस्ताक्षर गरे अमेरिका-इरान सम्झौतापत्रमा (भिडिओ)

नेपालखबर
असार ४, २०८३ बिहिबार १४:५८, काठमाडौँ

युद्ध अन्त्यका लागि अमेरिका र इरानबिच भएको शान्ति सम्झौतापत्र (इस्लामाबाद एमओयू) मा मध्यस्थकर्ताका रूपमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि हस्ताक्षर गरेका छन्। यसअघि द्वन्द्वरत दुई पक्ष इरान र अमेरिकाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले एउटा भिडिओ जारी गरेको छ, जसमा प्रधानमन्त्री सरिफले सम्झौतापत्रमा हस्ताक्षर गरिरहेको देखिन्छ।

हेर्नुहोस् भिडिओ

पाकिस्तानका प्रधानमन्त्री सरिफले एक्समा लेखेका छन्, ‘मलाई यो घोषणा गर्न पाउँदा गर्व महसुस भइरहेको छ कि संयुक्त राज्य अमेरिका र इरानबिच ऐतिहासिक ‘इस्लामाबाद एमओयू’मा इलेक्ट्रोनिक रूपमा हस्ताक्षर भएको छ। यो सम्झौतामा दुवै देशका राष्ट्रपतिहरूले हस्ताक्षर गरेका छन् र मैले मध्यस्थकर्ताका रूपमा यसलाई अनुमोदन गरेको छु।’

उनले अगाडि लेखेका छन्, ‘दुवै सरकारको उच्चतम स्तरमा यो सम्झौतामा हस्ताक्षर हुनुले दुवै पक्ष संवादमार्फत द्वन्द्व समाधान गर्न गम्भीर छन् भन्ने देखाउँछ। इस्लामाबाद सम्झौतापत्र तुरुन्तै लागु हुनेछ। पहिलो चरणका रूपमा इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्नेछ र संयुक्त राज्य अमेरिकाले तुरुन्तै नौसेना नाकाबन्दी हटाउनेछ।’

सहबाज सरिफले संयुक्त राज्य अमेरिका र इरानका शीर्ष नेताहरूप्रति आभार पनि व्यक्त गरेका छन्।

उनले कतार, साउदी अरेबिया, टर्की र इजिप्टका नेताहरूको योगदानको पनि प्रशंसा गरेका छन्।

गत अप्रिल ११-१२ मा पाकिस्तानको राजधानी इस्लामाबादमै अमेरिका र इरानका प्रतिनिधिबिच २१ घण्टा लामो वार्ता भए पनि असफल भएको थियो। तर पनि पाकिस्तानले दुई देशबिच मिलाउने प्रयास जारी राखेको थियो।

यसै क्रममा अहिले अमेरिका र इरानबिच शान्ति सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad