चरित्र र नैतिक आचरणमा प्रश्न उठेपछि भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालुप्रसाद यादवले छोरा तेजप्रताप यादवलाई परिवार र पार्टीबाट ६ वर्षका लागि निष्कासन गरेको घटना यतिबेला चर्चामा छ।
हसनपुरका विधायक तेजप्रताप परस्त्रीसँग सम्बन्धमा रहेको खुलासा भएपछि पिता लालु यादवले उनलाई परिवार र पार्टी दुवैबाट निकालेका हुन्।
यसैबीच यस विषयमा तेजप्रताप यादवकी पत्नी ऐश्वर्या रायले मुख खोलेकी छन्।
पूर्वमुख्यमन्त्री दरोगा प्रसाद रायकी नातिनी तथा पूर्वमन्त्री चन्द्रिका रायकी छोरी ऐश्वर्या र तेजप्रतापबीच सन् २०१८ मा विवाह भएको थियो। तर त्यसको केही महिनापछि नै उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगे। हाल उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यहीबीच तेजप्रतापले गत शनिबार साँझ अनुष्का यादव नाम गरेकी युवतीसँग बसेको तस्बिर फेसबुकमा सार्वजनिक गरी आफूहरूबीच १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेको रहस्य खुलाएका हुन्।
तथापि पार्टी र परिवारमा व्यापक आलोचना भएपछि उनले त्यही दिन त्यो पोस्ट डिलिट गर्दै कसैले आफ्नो फेसबुक ह्याक गरी बदनाम गर्न फोटो इडिट गरेर त्यसरी राखिदिएको दाबी अर्को सामाजिक सञ्जाल एक्समार्फत दाबी गरिसकेका छन्।
तर पनि उनका पिता लालु यादवले उनलाई परिवार र पार्टीबाट निष्कासन गर्दै कारबाही गरेका छन्।
यस विषयमा पत्रकारहरूसँग कुरा गर्दै तेजप्रतापकी पत्नी ऐश्वर्याले भनिन्, ‘म सोध्न चाहन्छु- जब यी मानिसलाई कुरा यस्तो छ भन्ने थाहा थियो भने मसँग विवाह किन गराए? तिनले मेरो जीवन किन बर्बाद पारे? अब तिनको (लालु प्रसाद यादव परिवारको) सामाजिक न्यायको भावना जागृत भएको छ। तिनीहरूले चुनावका कारणले यस्तो नाटक रचेका हुन्। यी सबै मानिसको मिलेमतो छ।’
उनले अगाडि भनिन्, ‘मलाई कुटपिट गर्दा उनीहरूको सामाजिक न्याय कहाँ थियो? उनीहरूलाई सोध्नुहोस्- मेरो के हुन्छ?’
Shares

प्रतिक्रिया