भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालुप्रसाद यादवका छोरा तेजप्रताप यादव र बुहारी ऐश्वर्या रायको सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको अर्को सुनुवाइ जुन २१ मा हुने भएको छ।
पटनाको प्रमुख पारिवारिक अदालतले सुनुवाइका लागि नयाँ मिति दिएको हो।
ऐश्वर्या रायका वकिल राजकुमार श्रीवास्तवले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रा वरिष्ठ वकिल आज आउन सकेनन्, त्यसपछि हामीले अदालतबाट समय मागेका थियौँ। मुद्दामा दुवै पक्षको भौतिक उपस्थिति आवश्यक थिएन।’
तेज प्रताप यादवका तर्फबाट उपस्थित वरिष्ठ वकिल जगन्नाथ सिंहले भने, ‘ऐश्वर्या रायसँग समय मागिएको थियो, त्यसपछि अदालतले समय दियो।’
पछिल्ला दिन तेज प्रतापबारे सञ्चारमाध्यममा सार्वजनिक तस्बिर वा पोस्टले मुद्दालाई असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले भने, ‘यो सबै कुरा मिडियामा भइरहेको छ। मुद्दामा कुनै प्रभाव पर्ने छैन।’
ऐश्वर्या राय र तेज प्रतापबीच २०१८ मा विवाह भएको थियो। तर विवाहको केही महिनापछि नै तेज प्रतापले अदालतमा सम्बन्ध विच्छेदको निवेदन दायर गरेका हुन्।
यसैबीच यही मे २४ मा तेज प्रताप फेसबुकमा प्रेमिकासँग देखिएपछि उनका बुवा लालु यादवले उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्। साथै उनलाई परिवारबाट अलग गरिएको घोषणा गरेका छन्।
Shares

प्रतिक्रिया