भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बुधबार बिहान अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवै राष्ट्रप्रमुखले करिब ३५ मिनेट कुराकानी गरे।
यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आतंकवादको मुद्दा उठाए। अपरेसन सिन्दूरका विषयमा छलफल भयो।
भारतका विदेश सचिव विक्रम मिश्रीले भिडिओ सेयर गर्दै यो जानकारी दिएका हुन्।
प्रधानमन्त्री मोदी हाल जी-७ शिखर सम्मेलनका लागि क्यानडामा छन्।
ट्रम्प पनि यस शिखर सम्मेलनका लागि त्यहाँ पुगेका थिए, तर इजरायल र इरानबीच द्वन्द्व बढेपछि उनी बीचैमा फर्किएका थिए।
यसैबीच भारतका प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुरा गरेका हुन्।
विदेश सचिव विक्रम मिश्रीले जी-७ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुने तय भएको थियो।
तर ट्रम्प बीचमै फर्किएकाले भेटवार्ता हुन सकेन। यसपछि उनीहरूबीच आज फोनमा कुराकानी भएको भारतका विदेश सचिव मिश्रीको भनाइ छ।
पाकिस्तानका सेना प्रमुख असिम मुनिर आजै अमेरिकाका राष्ट्रपति ट्रम्प भेट्न ह्वाइट हाउस जाँदै छन्।

त्यसअघि ट्रम्प र मोदीबीच फोनमा कुराकानी भएको हो। त्यसैले यसलाई महत्त्वपूर्ण मानिएको छ।
सञ्चारमाध्यमका अनुसार मुनिरसँग ट्रम्पले दिउँसो १ बजे (वासिङ्टन समय) ह्वाइट हाउसमा भेट्नेछन्। यस समयमा पत्रकार उपस्थित हुने छैनन्।
असिम मुनिर जुन १४ देखि अमेरिकाको भ्रमणमा छन्। ट्रम्पसँग उनको भेट पहिले नै तय गरिएको थियो। तर उनीहरूबीच इरान र इजरायलबीच द्वन्द्व बढिरहेका बेला हुन लागेको हो। इरान र पाकिस्तान छिमेकी मुलुक हुन्।
इरानी मिडियाका अनुसार, मुनिरले हालै मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए। जो जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिए।
ट्रम्पसँग के के भने मोदीले?
भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई स्पष्ट रूपमा भन्नुभयो- यो सम्पूर्ण घटनाका दौरान भारत-कुनै पनि तहमा अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तानबीच अमेरिकाको मध्यस्थताजस्ता विषयमा कुनै छलफल भएन।’
गत मे १० मा भारत र पाकिस्तानबीच युद्धविराम हुँदा अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नै मध्यस्थतामा यो सम्भव भएको दाबी गरिरहेका छन्।तर भारतले त्यसलाई अस्वीकार गरिरहेको छ।
मिश्रीले भने, ‘सैन्य कारबाही रोक्ने वार्ता भारत र पाकिस्तानका दुई सेनाबीच स्थापित विद्यमान च्यानलमार्फत प्रत्यक्ष रूपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा गरिएको थियो। प्रधानमन्त्री मोदीले जोड दिनुभयो- भारतले कहिल्यै मध्यस्थता स्वीकार गरेको छैन, गर्दैन र कहिल्यै गर्ने पनि छैन। यस मुद्दामा भारतमा राजनीतिक एकमत छ।’
विक्रम मिश्रीले थपे, ‘राष्ट्रपतिले प्रधानमन्त्रीले विस्तारमा राखेका कुरालाई मनन गर्नुभयो र आतंकवादविरुद्ध भारतको लडाइँलाई समर्थन व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले यो पनि भन्नुभयो- भारतले अब आतंकवादलाई छद् युद्धका रूपमा होइन, युद्धका रूपमा हेर्छ। भारतको अपरेसन सिन्दूर अझै जारी छ।’
Shares

प्रतिक्रिया