ग्लोबल


‘अमेरिकी सैन्य अखडामा हान्न इरानले क्षेप्यास्त्र तयार गर्‍यो’

‘अमेरिकी सैन्य अखडामा हान्न इरानले क्षेप्यास्त्र तयार गर्‍यो’

नेपालखबर
असार ४, २०८२ बुधबार १५:३६,

इरानले आफूविरुद्धको इजरायली आक्रमणमा अमेरिका सहभागी भए उसका मध्यपूर्वमा रहेका सैन्य अखडाहरूमा आक्रमण गर्न क्षेप्यास्त्र र अन्य सैन्य सामग्री तयार गरेको वासिङ्टनका अधिकारीहरूले बताएका छन्।

यो युद्धमा अमेरिका सहभागी हुने सम्भावना बढ्दै गएको छ। इजरायलले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हमलामा सहभागी हुन दबाब दिइरहेका बेला अमेरिकी अधिकारीहरूमाझ युद्धको त्रास बढेको छ। 

ट्रम्पले इरानलाई निसर्त आत्मसमर्पण गर्न भनेका छन्। उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी रहेको ठाउँ आफूलाई थाहा नभए पनि तत्काल उनको हत्या नगर्ने ट्रम्पको भनाइ छ।

अमेरिकाले आकाशमै लडाकु विमानलाई इन्धन भर्ने करिब तीन दर्जन हवाइ ट्यांकर युरोप पठाइसकेको छ। तिनलाई इरानमाथि हमला गरेको अवस्थामा उपयोग गरिने छ।

इरानको फोर्डो आणविक केन्द्र गहिरो सुरुङभित्र छ। जसलाई ध्वस्त पार्न इजरायलले मात्र नसक्ने बताइँदै छ। त्यसैले सो केन्द्रमा आक्रमण गर्न अमेरिका पनि सहभागी हुनसक्ने बताउन थालिएको छ।

यदि त्यसो भएमा इरानको सहयोगमा सञ्चालित हुती समूहले लाल सागरमा जहाजहरूमाथि हमला गर्ने निश्चिप्राय भएको अमेरिकी अधिकारीहरूको भनाइ उधृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ। त्यस्तै, इराक र सिरियाका इरानसमर्थित समूहहरूले पनि अमेरिकी शिविरमा हमला गर्ने सम्भावना छ।

अमेरिकाले हमला गरेमा इरानले हार्मुज जलसन्धिमा धराप थाप्ने अमेरिकी अधिकारीहरू बताउँछन्। अमेरिकी युद्धपोतहरू पर्सियन गल्फमा रोक्ने उदेश्यले इरानले सो कदम चाल्न सक्छ।

त्यसैले सो क्षेत्रमा अमेरिकाले आफ्ना सैनिकहरूलाई सतर्क तुल्याएको छ। यूएई, जोर्डन, साउदी अरबसहित सो क्षेत्रमा ४० हजार अमेरिकी सैनिक छन्।

दुई इरानी अधिकारीहरूले पनि आफूविरुद्ध आक्रमण भए अमेरिकी अखडामाथि प्रहार गर्ने स्वीकार गरे।

इरानी विदेशमन्त्री अब्बास आराग्चीले सोमबार युद्ध विस्तार भए दोष इजरायल र उसका मुख्य समर्थकहरूको हुने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad