ग्लोबल


हनिमुन हत्या प्रकरणमा सोनमका दाइ पनि अनुसन्धानको घेरामा

हनिमुन हत्या प्रकरणमा सोनमका दाइ पनि अनुसन्धानको घेरामा

फाइल तस्बिर: नवविवाहित जोडी सोनम रघुवंशी र राजा रघुवंशी। हनिमनुका क्रममा पति मारिएपछि पत्नी अहिले प्रहरीको हिरासतमा छिन्।


नेपालखबर
असार ७, २०८२ शनिबार ७:१, काठमाडौँ

हनिमुन हत्या प्रकरण अनुसन्धानमा भारतको प्रवर्तन निर्देशनालय (ईडी) प्रवेश गरेको छ। 

भारतीय राज्य मध्य प्रदेशको इन्दौरबाट भारतकै अर्को प्रदेश मेघालय हनिमुन मनाउन गएका राजा रघुवंशी मारिएपछि प्रहरीले उनकी पत्नी सोनमसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

मेघालयको शिलोङ प्रहरीले सोधपुछका क्रममा सोनमका प्रेमी राज कुशवाहाले सोनमका दाइ गोविन्द धेरै वर्षदेखि हवाला व्यवसायमा संलग्न रहेको र आफू पनि उनीसँगै काम गर्ने गरेको बयान दिएका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार राजको मोबाइलमा हवाला लेनदेन र कोडवर्ड फेला परेको प्रहरीले जनाएको छ। 

योसँगै अब राजा हत्या प्रकरणका मुख्य अभियुक्त सोनम रघुवंशीका दाइ गोविन्द पनि अनुसन्धानको घेरामा परेका छन्।

राजले आफू सोनम र गोविन्दसँगै हवाला पैसाको लेनदेन गर्ने गरेको बताएका छन्। 

गोविन्दको श्री बालाजी एक्टरियोको नाममा प्लाइवुड ल्यामिनेसन व्यवसाय छ। उनको मंगल सिटी मलमा कार्यालय र लासुडिया मोरीमा गोदाम छ।

यसैबीच, अर्को कुरा पनि प्रकाशमा आएको छ। गोविन्दको गोदाम वाणगंगा क्षेत्रमा पनि छ, जहाँबाट राजलाई प्रहरीले पक्राउ गरेको थियो।

हवालाको कालो व्यापार पर्दाफास भएसँगै कथामा नयाँ मोड आएको छ। अब यस प्रकरणमा सोनमका दाइ गोविन्दप्रति शंकाको सुई सोझिएको छ। 

इन्दौर अपराध शाखाले अचानक गोविन्दलाई सोधपुछका लागि बोलाएको छ।

त्यसो त यसबीच उक्त हत्याकाण्डमा सोनमकी मिल्ने साथी अलका नामकी युवतीको नाम पनि जोडिन आइपुगेको छ। 

इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।

यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।

यसपछि खोजीका क्रममा प्रहरीले राजालाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्‍यो। तर त्यतिबेला सोनम भेटिइनन्।

अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको थियो। 

राजा हत्या घटनामा हालसम्म प्रहरीले उनकी श्रीमती सोनमसहित ५ जनालाई पक्राउ गरेको छ। 

बिहीबार मात्र शिलोङ अदालतले सोनम र उनका प्रेमी राज कुशवाहालाई थप दुई दिन प्रहरीको हिरासत र हत्याका लागि भाडामा लिइएका आकाश राजपुत, विशाल सिंह चौहान र आनन्दलाई थप १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad