अमेरिकाले इरानमा गरेको आक्रमणप्रति अमेरिकाकै डेमोक्र्याटिक पार्टीका नेताहरूले विरोध जनाएका छन्।
अमेरिकाले गएराति इरानका तीन आणविक स्थल- फोर्डो, नातान्ज र इस्फहानमा बम हानेको हो।
यो आक्रमणले विश्वमै अशान्ति फैलिन सक्ने भनेर संयुक्त राष्ट्रसंघले चिन्ता प्रकट गरिरहेका बेला अमेरिकाकै डेमोक्र्याटिक पार्टीका धेरै नेताले अमेरिकाले इरानमा गरेको हमलाको निन्दा गरेका हुन्।
कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले यो आक्रमण संविधान र कंग्रेसको युद्धसम्बन्धी अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै ट्रम्पविरुद्ध महाभियोगको आधार बनेको बताइन्।
उनले एक्समा लेखेकी छन्, ‘उनले हतारमा यस्तो कदम चालेका छन्, जसले हामीलाई धेरै लामो समयसम्म फसाउन सक्ने युद्ध सुरु गर्न सक्छ।’
कंग्रेसका अर्का सदस्य रशिदा तालिबले पनि आक्रमणको निन्दा गरेकी छन्। उनले पनि यो संविधानको घोर उल्लंघन भएको उल्लेख गर्दै कंग्रेसलाई तुरुन्तै हस्तक्षेप गर्न अपिल गरेकी छन्।
उनले भनेकी छन्, ‘हामीले देखेका छौँ- 'विनाशका हतियार'को झुटा दाबीले मध्य पूर्वमा दशकौँसम्म चलेको अन्तहीन युद्धले हामीलाई कहाँ पुर्याउँछ। हामी फेरि त्यो पासोमा पर्नु छैन।’
साथै कंग्रेसका अर्का सदस्य जिम म्याकगभर्नले यो अवस्थालाई 'उन्माद'को संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘ट्रम्पले कंग्रेसको स्वीकृतिबिना इरानमा बम विस्फोट गराए र हामीलाई मध्यपूर्वमा युद्धमा अवैध रूपमा तान्यो। हामीले अझै कुनै पाठ सिकेका छैनौँ?’
इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो।
इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
इरानले पनि अमेरिकाबाट आक्रमण भएको पुष्टि गरेको छ।
इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्।
यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ।
सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।
यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।
उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ।
यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो।
Shares

प्रतिक्रिया