भारतीय राज्य तेलंगानाको सांगरेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार भएको रिएक्टर विस्फोटबाट भएको ठूलो आगलागीमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासनले सिगाची रासायनिक कारखानामा भएको विस्फोट र आगलागीमा मृत्यु भएकामध्ये अहिलेसम्म चार जनाको मात्र पहिचान भएको बताएको छ।
दुर्घटनामा ३५ जना घाइते पनि भएका छन्। सबैको उपचार जारी छ।
जिल्ला प्रशासनले दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र खोजी जारी रहेको बताएको छ। ५७ जना भने सुरक्षित छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, "तेलंगानाको सांगरेड्डीमा रहेको एक कारखानामा भएको आगलागी घटनामा मृत्यु भएकाहरूको मृत्युबाट म दुःखी छु। आफ्ना प्रियजन गुमाएकाहरूप्रति समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।"
उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन्।
साथै बिहार पनि सरकारले बिहारका बासिन्दा मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।
Shares

प्रतिक्रिया