इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बालीनजिकै डुंगा पल्टिँदा कम्तीमा ६ जनाको मृत्यु भएको र धेरै जना बेपत्ता भएको जनाएको छ।
उद्धार एजेन्सीका अनुसार डुंगामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए।
स्थानीय समयअनुसार बुधबार राति ११:२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवांगीबाट बाली जाँदै गर्दा डुंगा डुबेको हो।
एजेन्सीले ३१ जनालाई उद्धार गरिएको बताएको छ।
यद्यपि, धेरै रिपोर्टले डुंगामा आधिकारिक सूचीमा उल्लेखभन्दा बढी यात्रु बोकेको हुन सक्ने संकेत गरेका छन्।
अधिकारीहरूले डुंगा डुब्नुको कारणबारे अनुसन्धान गरिरहेका छन्।
बीबीसीले कुरा गरेका पीडित परिवारले आधिकारिक यात्रुसूचीमा रहेका ६५ जनामध्ये आफ्ना मानिस नभएको बताएका छन्।
डुंगामा सवार बान्युवांगीका बासिन्दा इम्रोनले तीनपटक तीव्र रूपमा डुंगा हल्लिएपछि समुद्रमा डुबेको बताए।
Shares

प्रतिक्रिया