चिनियाँ विदेशमन्त्री वाङ यीले ईयूकी शीर्ष कूटनीतिज्ञ काया कलासलाई बेइजिङले युक्रेनमा रुस हारेको हेर्न नचाहने बताएका छन्। युक्रेनमा रुसको हार भए अमेरिकाको सम्पूर्ण ध्यान बेइजिङतर्फ सोझिने बताउँदै वाङले आफूहरू रुसको पक्षमा रहेको स्पष्ट पारेको स्रोतहरूलाई उधृत गर्दै एससीएमपीले जनाएको छ।
वाङ र कलासबीच बुधबार ब्रसेल्समा ईयू-चाइना स्ट्राटेजिक डायलगमा चार घण्टा लामो वार्ता भएको थियो। चीनले आफूहरू युक्रेन युद्धको कुनै पनि पक्षमा नभएको बताउँदै आएको थियो। त्यसैले वाङको यो खुलस्त अभिव्यक्तिबाट कतिपय ईयू अधिकारीहरू चकित परेका छन्।
तर, वाङले रुसलाई आफूहरूले युद्धमा वित्तीय वा सैन्य हिसाबले नसघाएको बताएका थिए। आफूहरूले रुसलाई त्यस्तो सहयोग गरेको भए यो द्वन्द्व धेरै पहिले समाप्त भइसक्ने उनको तर्क थियो।
इस्टोनियाकी पूर्वप्रधानमन्त्री रहेकी कलास गत वर्ष मात्र ईयूको विदेश मामिला प्रमुख बनेकी हुन्। भेटमा वाङले उनलाई ‘इतिहासको पाठ पढाएको’ जनाइएको छ। युरोपले युक्रेन युद्धमा चीनको अडानलाई लिएर चर्को आलोचना गर्दै आएको छ।
पछिल्लो समय चीनले ईयूलाई दुर्लभ खनिज पदार्थ आपूर्ति रोकेको छ। यसले युरोपेली कम्पनीहरूको उत्पादनमा बाधा पुर्याएको बताइएको छ।
तर, यो भेटपछि पनि वाङले निर्बाध आपूर्तिको आश्वासन दिएनन्। युरोपेलीहरूको चिन्तालाई वाङले खारेज गरेको स्रोतको भनाइ छ। यसले चीन र ईयूको सम्बन्धमा थप बाधा पर्ने संकेत देखिएको छ।
ब्रसेल्सपछि वाङले बर्लिनमा जर्मन विदेशमन्त्री योहान वेडफुलसँग भेटेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया