अमेरिकाको रक्षा विभागले इरानले गरेको हवाई आक्रमणले कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डा (एयरबेस) मा 'सामान्य क्षति' मात्र भएको बताएको छ।
अमेरिकाको रक्षा विभागका प्रवक्ता सिन पार्नेलले इरानको क्षेप्यास्त्रले अल उदेइद हवाई अड्डामा सामान्य मात्र क्षति भएको दाबी गरेका हुन्।
बीबीसी फारसीको भेरिफाई सर्भिससँग उनले भनेका छन्, ‘आक्रमणले आधारभूत उपकरण र पूर्वाधारमा सामान्य क्षति पुर्याएको छ। यस क्रममा कोही पनि घाइते भएका छैनन्।’
उनले अल उदेइद एयरबेस पूर्ण रूपमा सञ्चालन भइरहेको र साझेदार कतारसँगको सहकार्यमा क्षेत्रमा सुरक्षा र स्थिरता प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तरता दिन पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका छन्।
बीबीसी फारसीको तथ्य-जाँच टोलीले अल उदेइद हवाई अड्डामा आक्रमणअघि र पछिका उपग्रह तस्बिरले आक्रमणमा एन्टेना कोर नष्ट र वरपरका भवनमा क्षति भएको स्पष्ट देखिएको उल्लेख गरेको छ।
जुन १३ मा इजरायलले इरानमा आक्रमण गरेपछि दुई देशबीच जारी युद्धमा अमेरिका पनि जुन २२ मा इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा बम हानेर प्रत्यक्ष संलग्न भएको थियो।
बदलामा इरानले पनि जुन २३ मा कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै जुन २४ मा इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया