सोमबार बंगलादेशको राजधानी ढाकास्थित माइलस्टोन स्कुल एन्ड कलेजको भवनमा बंगलादेशी वायुसेनाको ट्रेनर विमान खस्दा मृत्यु भएकाको संख्या १९ पुगेको छ।
एपी रिपोर्टका अनुसार, विमान दुर्घटनामा १६ विद्यार्थी, २ शिक्षक र १ पाइलटको मृत्यु भएको हो।
दुर्घटनामा १६४ भन्दा बढी घाइते भएका छन्। ६० भन्दा बढी घाइतेलाई बर्न इन्स्टिच्युटमा रिफर गरिएको छ। सामान्य चोटपटक लागेकाहरू उत्तरा मेडिकल कलेजमा उपचाररत छन्।
विमान खस्दा विद्यालय तथा क्याम्पसमा पढाइ भइरहेको थियो।
बंगलादेश सेनाले वायुसेनाको एफ-७ बीजीआई विमान दुर्घटना भएको पुष्टि गरेको छ। यो विमान चीनमा बनेको थियो।
माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार पढाइ सकेर बिदा हुनै लागेका बेला विमान कलेज भवनमा खसेको थियो।
उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोकियो। अनि नर्सरी र जुनियर सेक्सनका धेरै कक्षामा बजारियो। स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’
अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिअनसार सोमबार दिउँसो १:०६ बजे (स्थानीय समय) उडेको विमान केही समयपछि नै नियन्त्रण गुमाउँदै खसेको थियो।
अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट उद्धारमा खटिएका छन्।
बंगलादेश सरकारले विमान दुर्घटनाका कारण मंगलबारका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। यस दिन सबै सरकारी, अर्ध-सरकारी, स्वायत्त संस्था र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ।
हेर्नुहोस्, दुर्घटनाका तस्बिरहरू:








Shares

प्रतिक्रिया