ग्लोबल


बंगलादेश: ‘पाइलटले बचाउने प्रयास गर्दागर्दै विमान विद्यालयमा खस्यो’ (भिडिओ)

बंगलादेश: ‘पाइलटले बचाउने प्रयास गर्दागर्दै विमान विद्यालयमा खस्यो’ (भिडिओ)

नेपालखबर
साउन ५, २०८२ सोमबार २०:१४, काठमाडौँ

बंगलादेशको राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमाथि सोमबार दिउँसो बंगलादेशी वायुसेनाको एफ-७ बीजीआई ट्रेनर विमान खस्दा १९ जनाको मृत्यु भएको छ भने १६४ व्यक्ति घाइते भएका छन्। 

यसको केही घण्टापछि बंगलादेशको अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) ले विज्ञप्ति जारी दुर्घटनाको कारण खुलाउने प्रयास गरेको छ। 

विज्ञप्ति अनुसार, ‘उडेको केही समयपछि विमानमा प्राविधिक गडबडी आएको थियो। विस्तृत जानकारी भने अनुसन्धान पूरा भएपछि दिइनेछ।’

आईएसपीआरका अनुसार, पाइलट फ्लाइट लेफ्टिनेन्ट मोहम्मद तौकीर इस्लामले दुर्घटना र ठूलो क्षति नहोस् भनेर विमानलाई घना बस्ती भएको क्षेत्रबाट कम बस्ती भएको क्षेत्रमा मोड्न सक्दो प्रयास गरेका थिए। तर दुर्भाग्यवश! विमान ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजको दुईतले भवनमा खस्यो। 

दुर्घटनामा पाइलटको पनि मृत्यु भएको छ। 

विमान दुर्घटना हुँदाको भिडिओ फुटेज सामाजिक सञ्जालमा:

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बंगलादेश वायुसेना दुर्घटनाबाट दुःखी छ र पीडितहरूलाई उचित चिकित्सा उपचार र सबै सम्भावित सहयोग प्रदान गर्न सक्रिय रूपमा संलग्न छ।’

वायुसेनाले दुर्घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले दुर्घटनाको कारण अनुसन्धान गर्न ‘आवश्यक कदम चालिने र सबै सम्भावित सहयोग प्रदान गरिनेछ’ भनेका छन्।

उनले एक्समा लेखेका छन्, ‘यो राष्ट्रको लागि गहिरो शोकको क्षण हो। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र सम्बन्धित अस्पतालसहित सबै अधिकारीलाई यो अवस्थालाई अत्यन्त प्राथमिकताका साथ सम्हाल्न निर्देशन दिन्छु।’

बंगलादेश सरकारले मंगलबारका लागि राष्ट्रिय शोक घोषणा गरेको छ, जसमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad