रुसमा शक्तिशाली भूकम्पपछि यो देशसहित अमेरिका र जापानमा समेत सुनामीको आतंक छाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुनामीका कारण अहिले रुस अमेरिका र जापानमा मानिसहरूको भागाभाग भएको छ।
रुसको सेभेरो-कुरिलस्क सहरमा कम्तीमा सुनामीका तीनवटा छाल आएका छन्। जसका तस्बिर सार्वजनिक भइरहेका छन्।

रुसको सखालिन क्षेत्रमा रहेको यो सहरमा करिब दुई हजार मानिस बस्छन्।
उता अमेरिकाको हवाईमा पनि सुनामीको चेतावनी जारी भएपछि मानिसहरू राज्य छाडेर धमाधम सुरक्षित स्थानमा गइरहेका छन्।
मानिसहरूले घर छाड्ने क्रम सुरु भएसँगै सडकमा ठूलो संख्यामा सवारीसाधन देखिएका छन्।

स्थानीय अधिकारीले सुनामीका छाल केही घण्टाभित्र हवाईमा आइपुग्न सक्ने अनुमान गरेका छन्।
यस्तै रुसमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न भनिएको छ।
यीमध्ये १० हजार ५०० मानिस होक्काइडोमा छन्, जहाँ स्थानीय मिडिया फुटेजमा मानिसहरू छतमा देखिएका छन्।

टोकियोको दक्षिणमा रहेको चिबामा रहेको समुद्री तटमा रहेको वेधशालामा पनि केही मानिस जम्मा भएका छन्।
अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र उच्च भूभागमा सर्न आग्रह गरेका छन्।
जापानको प्रशान्त तटमा दर्जनौँ सुनामी छाल आएका छन्।
ट्रम्पको आग्रह

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्का र प्रशान्त तटमा सुनामीको निगरानी भइरहेको बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘प्रशान्त महासागरमा आएको ठूलो भूकम्पका कारण हवाईमा सुनामी चेतावनी जारी गरिएको छ। अलास्का र अमेरिकी प्रशान्त तटमा सुनामी निगरानी जारी छ।’
उनले जापानले पनि यसको निगरानी गरिरहेको उल्लेख गरेका छन्।
ट्रम्पले मानिसहरूलाई सुनामीसम्बन्धी जानकारीका लागि tsunami.gov मा जान आग्रह गर्दै भनेका छन्, ‘सशक्त रहनुहोस्, सुरक्षित रहनुहोस्।’
अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार दिएको जानकारीअनुसार रुसको कामचट्का प्रायद्वीपनजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको बताएको छ।
यसपछि जापानदेखि अमेरिकासम्म सुनामीको चेतावनी जारी गरिएको थियो।
यो खबर प्रकाशन हुँदासम्म कुनै हताहतको खबर भने आएको छैन।
Shares

प्रतिक्रिया