संयुक्त राज्य अमेरिकाको संघीय अदालतले मध्यअमेरिकी देशसहित नेपालले पाइरहेको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधाको समय विस्तार गरिदिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यही अगस्ट ५ सम्म मात्र टीपीएस सुविधा नेपालीले पाउने भन्दै गत जेठ २२ मा नेपालीलाई स्वदेश फर्किने तयारी गर्न भनेको थियो।
सनफ्रान्सिस्कोकी डिस्ट्रिक्ट जज ट्रिना एल थम्पसनले टीपीएस सुविधा सकिने मिति नखुलाई अदालती प्रक्रिया रहँदासम्म सुविधा निरन्तर कायम गर्न आदेश दिएको समाचार संस्था एपीले जनाएको छ।
यसको अर्को सुनुवाइ नोभेम्बर १८ मा तोकिएको छ। यो आदेशले नेपाल, होन्डुरस र निकारागुआबाट अमेरिकामा टीपीएस सुविधा लिइरहेकालाई फाइदा पुग्नेछ।
आदेशमा सरकारले सम्बन्धित देशको वस्तुगत अवस्थाको अध्ययनबिनै निर्णय लिएकाले तत्काल सुविधा खारेज नहुने उल्लेख गरिएको छ।
अमेरिकामा यो सुविधा लिइरहेका करिब ७ हजार नेपाली छन्। त्यसैगरी ५१ हजार होन्डुरन र ३ हजार निकारागुआनले पनि यो सुविधा लिएको एपीले उल्लेख गरेको छ।
अगस्ट ५ देखि नेपालको र सेप्टेम्बर ८ देखि ती दुई देशको सुविधा खारेज हुने ट्रम्प प्रशासनले जनाएको थियो।
अदालतको आदेशपछि अब यो सुविधा प्रयोग गरिरहेकाहरूले पहिलेजस्तै निर्वाध काम गर्न पाउनेछन्।
नेसनल टीपीएस अलायन्स भनिने वकालती समूहले अमेरिकी अदालतमा यससम्बन्धी मुद्दा हालेको थियो।
जसमा सामान्यतया यो सुविधा पाउनेले कम्तीमा १ वर्षको समय पाउने भए पनि निकै कम अर्थात २ महिना मात्र समय दिइएको उल्लेख गरिएको थियो।
Shares

प्रतिक्रिया