ग्लोबल


ट्रम्पको दबाबका बीच कोरियन एयरले १०३ वटा बोइङ विमान किन्ने

ट्रम्पको दबाबका बीच कोरियन एयरले १०३ वटा बोइङ विमान किन्ने

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १५:२,

कोरियन एयरले अमेरिकी कम्पनी बोइङबाट १०३ वटा विमान किन्ने सम्झौता गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारहरूलाई अमेरिकी कम्पनीसँग व्यापार गर्न दबाब दिइराखेका बेला सो एयरलाइन्सले ३६ अर्ब डलरको विमान किन्ने भएको हो।

सम्झौताअनुसार कोरियन एयरले बोइङ ७८७, ७७७ र ७३७ यात्रुवाहक विमान किन्ने छ।

पछिल्लो समय अमेरिकासँग व्यापार सम्झौता गरेका मुलुकहरूले धमाधम बोइङसँग विमान किन्ने घोषणा गरिरहेका छन्। जुलाईमा जापानले १०० वटा बोइङ विमान किन्ने सम्झौता गरेको थियो।

त्यस्तै, अमेरिकी भन्सार घटाउने सर्तमा इन्डोनेसियाको ध्वजवाहक गरुडले ५० वटा विमान किन्ने बताएको छ।

यी सम्झौताहरूले एकपछि अर्को दुर्घटनामा परेर संकटमा परेको बोइङलाई उकास्न र युरोपेली प्रतिस्पर्धी एयरबसलाई उछिन्न मद्दत पुगेको छ।

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले ट्रम्पलाई भेटेको केही घण्टामै सो सम्झौता सार्वजनिक गरिएको हो। ली ट्रम्पले दक्षिण कोरियामाथि लगाएको १५ प्रतिशत भन्सार शुल्कबारे छलफल गर्न वासिङ्टन पुगेका हुन्।

सम्झौता हुँदा अमेरिकी वित्तमन्त्री र दक्षिण कोरियाली वाणिज्यमन्त्री पनि उपस्थित थिए।

यसका अलावा सामसङले अमेरिकी नौसैनिक जहाजको मर्मतमा सघाउने, हुन्डाइले अमेरिकामा आफ्नो लगानी २१ अर्बबाट २६ अर्ब डलर पुर्‍याउने लगायतका सम्झौता पनि भएको छ।  एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad