शुक्रबारको बिहान। चीनको समुद्री किनाराबाट मात्र केही किलोमिटर टाढा रहेको ताइवानको किनमेन टापु। अचानक हवाइ आक्रमणको सूचना दिने तीखो साइरनले शान्ति भंग गर्छ।
स्थानीय सरकारको कार्यालयमा मान्छेहरूले हतारहतार बत्ती निभाउँछन्। उनीहरू टेबलमुनि पस्छन्। अरु दौडेर भूमिगत पार्किङमा पुग्छन्। नजिकैको अस्पतालका स्वास्थ्यकर्मी रगत बगिरहेका घाइतेहरूको उपचारमा लाग्छन्।
तर, रगत नक्कली हो भने घाइतेहरू स्वयंसेवक। सरकारी कर्मचारीहरूसँग मिलेर उनीहरू अनिवार्य नागरिक रक्षा अभ्यासमा सहभागी भएका थिए। गत महिना यस्तो अभ्यास ताइवानभरि आयोजना गरिएको थियो।
किन गरियो त यस्तो अभ्यास? चीनबाट हुने सम्भावित आक्रमणका लागि जनतालाई तयार पार्न।
चीनले ताइवानलाई एकीकरण गर्ने बताउँदै आएको छ। त्यसका लागि बलप्रयोगको विकल्पलाई उसले खुला राखेको छ। पछिल्लो समय ताइवानले युद्धको तयारीलाई तीव्रता दिएको छ।
गत वर्ष चुनिएका राष्ट्रपति विलियम लाइ चीनविरुद्ध कडा अभिव्यक्ति दिन्छन्। उनले रक्षा क्षेत्रलाई बलियो बनाउन निकै कसरत गरिरहेका छन्।
तर, उनका लागि सबैभन्दा ठूलो चुनौती हो– आफ्नै जनतालाई विश्वास दिलाउनु। रक्षामा जोड दिने उनको नीतिले ताइवानमा विवाद सिर्जना गरेको छ। अधिकांश नागरिक चीनले आक्रमण गरिहाल्छ भन्ने विश्वास गर्दैनन्।
‘यस्ता रक्षा अभ्यासहरूलाई हामीलाई आवश्यक छ। मलाई लाग्छ, चीनबाट केही खतरा छ,’ ताइपेइमा वित्तक्षेत्रमा काम गर्ने बेन नामक व्यक्ति भन्छन्, ‘तर, चीनले आक्रमण गर्ने सम्भावना न्यून छ। यदि उनीहरू साँच्चै हामीमाथि आक्रमण गर्न चाहन्थे भने अहिलेसम्म गरिसक्थे।’
गत मेमा सार्वजनिक एक सर्वेक्षणअनुसार ६५ प्रतिशत नागरिकलाई लाग्छ– आगामी पाँच वर्षमा चीनले ताइवानमा आक्रमण गर्ने छैन।
ताइवानमाथि चीनको आक्रमण नजिकिँदै गएको र त्यसका लागि २०२७ सम्ममा चीन तयार हुने अमेरिकाको चेतावनीका बाबजुद ताइवानी नागरिक ढुक्क देखिन्छन्।

ताइवानको सैन्य तयारी
लाइ र उनको सरकारले बारम्बार दोहोर्याउने गरेका छन्– ‘युद्धका लागि तयारी गरेर हामी युद्ध टार्दै छौँ।’ आफूहरूले लडाइँ गर्न नखोजेको बरु रक्षा शक्ति वृद्धि गर्ने ताइवानको अधिकार मात्र प्रयोग गरेको उनीहरूको भनाइ छ।
सैन्य सुधारका अलावा उनीहरू अर्को वर्षको रक्षा बजेट २३ प्रतिशतले वृद्धि गरेर ३१ अर्ब डलर पुर्याउन चाहन्छन्। त्यो भनेको जीडीपीको ३ प्रतिशतभन्दा बढी हो। खासगरी अमेरिकाले रक्षा बजेट बढाउन दबाब दिइरहेको छ। लाइले २०३० सम्ममा रक्षा बजेट ५ प्रतिशत पुर्याउने वाचा गरेका छन्।
अनिवार्य सैन्य सेवा कार्यक्रमलाई बढाएपछि ताइवानले सेनामा भर्ती हुनेहरूको तलब र सुविधा पनि वृद्धि गरेको छ। त्यस्तै तालिमलाई पनि कडा बनाएको छ।
सैनिकको अभाव र गिर्दो मनोबललाई सम्बोधन गर्न यस्ता उपाय अपनाइएको हो। सैनिकहरूले यसअघि तालिम कमजोर भएको गुनासो गर्ने गरेका थिए। त्यही भएर ती सैनिकहरूको नरमपनालाई व्यंग्य गर्दै ‘स्ट्रबेरी सोल्जर्स’ उपनाम दिइएको छ।
यसपटकको तालिम भने इतिहासकै सबैभन्दा ठूलो र लामो थियो। जसमा २२ हजार जगेडा सैनिकले भाग लिएका थिए। सूचना युद्धका अलावा यस वर्ष सहरी युद्धमा पनि ध्यान केन्द्रित गरिएको थियो।
सैनिकहरूले रेल प्रणाली र सहरी बस्तीमा शत्रु सेनालाई रोक्ने अभ्यास गरे। ताइपेइमा नदीकिनारको पार्कमा हेलिकोप्टर अवतरण गराएर त्यसमा क्षेप्यास्त्र चढाउने र एउटा स्कुललाई ट्यांक मर्मत केन्द्रमा बदल्ने अभ्यास पनि गरियो।
सरकारले नागरिकहरूलाई पनि युद्धका लागि तयार पारिरहेको छ। त्यसका लागि नागरिक रक्षा अभ्यासको मात्रा बढाइएको छ।
आक्रमण र उद्धारको अभ्यास
गत महिनाको अभ्यासमा कयौँ दिनसम्म ताइवानमा प्रमुख सहरी क्षेत्रहरूमा हवाइ आक्रमणको अभ्यास गरियो। तोकिएको जिल्लाका बासिन्दाहरूले घरभित्र बस्नुपरेको थियो। होटल, पसल र रेस्टुराँहरूको व्यवसाय ठप्प पारिएको थियो। यात्रुहरू रेल र विमानबाट ओर्लिन पाएका थिएनन्। आदेश उल्लंघन गर्नेलाई जरिवाना तिराइएको थियो।
ताइपेइका बस्तीहरूमा आपतकालीन टोली र स्वयंसेवकहरूले घाइतेहरूको उद्धार, आगो नियन्त्रण र क्षेप्यास्त्र लागेर क्षतिग्रस्त भवनबाट ओर्लिने अभ्यास गरेका थिए। स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई कार पार्कमा राखेर उपचार गरेका थिए।
केही ताइवानीहरूले यसको समर्थन गरे।
‘मलाई लाग्छ, यो उचित कदम हो। किनभने खतरा बढेको छ,’ कर्मचारी स्टेन्ली वेइले भने, ‘हेर्नुस् त, चीनले हामीलाई कसरी घेरिरहेको छ।’
‘म चीनसँग शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्छु। तर, हामीले रक्षा क्षमता बढाउनु पर्छ,’ आईटी क्षेत्रमा काम गर्ने रे याङले भने, ‘युक्रेन युद्ध अघिसम्म मलाई यसको वास्ता थिएन। तर, त्यसपछि भने चीनले आक्रमण गर्न सक्छ जस्तो लाग्छ।’
तर, अन्य मानिसहरू यसलाई बेकार मान्छन्।
‘ल आक्रमण भयो रे, हामी के गर्न सक्छौँ?’ लिउ नामक इन्जिनियर भन्छन्, ‘उनीहरूले आक्रमण गर्छन् भन्ने मलाई लाग्दैन। खतरा त सधैँ थियो।’

‘हामी साधारण मान्छेलाई किन दुःख दिन्छन्?’
यस्तो धारणा किनमेन टापुमा अझ बढी छ।
१९४० र १९५० को दशकमा चिनियाँ र ताइवानी सैनिकहरूबीच झडप भएको यो सानो टापु सम्भावित लडाइँको अग्रमोर्चा मानिन्छ। तर, अहिले किनमेनका थुप्रै मानिसहरू चीनसँगको निकटतलाई लाभदायक मान्छन्।
किनमेनको अर्थतन्त्र अहिले नजिकैको चिनियाँ सहर सियामेनबाट डुंगा चढेर आउने पर्यटकको सेवातिर केन्द्रित भइरहेको छ।
७७ वर्षीया याङ पेइलिङ किनमेनमा परम्परागत खाजा बिक्री गर्ने पसल चलाउँछिन्। किशोरी छँदा उनले १९५८ को हानाहान भोगेकी छन्।
‘हामी जंगली सागपात टिप्न डाँडामा थियौँ। उनीहरूले तोपले किनमेनमा हाने। सबथोक रातै भयो,’ उनले भनिन्।
याङ र उनको परिवार पहाडी गुफामा लुकेर बाँचे। गाउँमा भएकाहरू मारिए।
अहिले सियामेनका पर्यटकलाई उनी आफ्नो पसलमा स्वागत गर्छिन्।
‘अब चीनले हामीलाई आक्रमण गर्दैन। हामी सबै चिनियाँ हौँ, एकै परिवारका हौँ। हामीजस्ता साधारण मान्छेलाई उनीहरूले किन दुःख दिन्छन्?’ उनी भन्छिन्।
नजिकै अर्को पसलमा काम गर्ने चेन यसमा सहमति जनाउँछिन्।
‘उनीहरूले यहाँको घर भत्काए र हामीलाई मारे भने जितेर पनि के काम? यो जमिन मात्रै जितेर उनीहरूलाई के फाइदा?’ उनी भन्छिन्।
ताइवानमा आक्रमण गर्नु निरर्थक र महँगो हुनेछ भन्ने विचार थुप्रै ताइवानीमा पाइन्छ।
तर, राष्ट्रपति लाइ चीनलाई ‘विदेशी शत्रु’ भन्छन् र उसले ताइवानलाई राजनीतिक र सैन्य धाकधम्कीबाट टुक्र्याउन खोजिरहेको तर्क दिन्छन्।
ताइवानीहरू ढुक्क हुनुको अर्को कारण हो– उनीहरू लाग्छ, ताइवानको रक्षाका लागि कानुनले अमेरिकालाई बाध्य गराउँछ।
तर, ट्रम्पको कार्यकालमा यस्तो धारणा राख्नेहरूको संख्या घटेको छ।
‘चीन ताइवानका लागि खतरा होइन र उसले कहिल्यै आक्रमण गर्दैन भन्ने दृष्टिकोण अबुझहरूको विचार होइन,’ रक्षा विश्लेषक सेन मिङ सिह भन्छन्, ‘हो, सी चिनफिङ ताइवानसँग रणनीतिक युद्ध लड्ने नियत राख्छन्। तर, चीनको अहिलेको सैन्य शक्तिले अमेरिकासँग बराबर गर्न सक्दैन।’
ताइवानको सेमिकन्डक्टर उद्योगका कारण अन्तर्राष्ट्रिय समुदाय अघि सर्ने उनको भनाइ छ।
तर, दशकौँको खतराको कुरापछि मान्छेहरू त्यो खतराप्रति कम संवेदनशील बनेको अस्ट्रेलियन नेसनल युनिभर्सिटीका राजनीतिशास्त्री वेन ती सुङ बताउँछन्।
‘मनोवैज्ञानिक हिसाबले हेर्ने हो भने तपाईं हरेक खतरालाई गम्भीरतापूर्वक लिन सक्नुहुन्न। नत्र मनोरोगी भइन्छ। त्यसैले मान्छेहरूले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएका छन्।
चीनले आक्रमण गर्ला कि नगर्ला?
चीनले आक्रमण गर्ला कि नगर्ला भन्ने बहस लामो समयदेखि ताइवानका लागि अस्तित्वकै प्रश्न बनेको छ। तर, पछिल्लो समय तनाव बढेपछि यसको जोखिम वृद्धि भएको छ। खासगरी गत वर्ष विलियम लाइ राष्ट्रपति बनेपछि।
लाइ ताइवान कहिल्यै पनि चीनको हिस्सा थिएन भन्ने दाबी गर्छन्। उनी र उनको डीपीपी पार्टीलाई चीनले ‘पृथकतावादी’ भन्ने गरेको छ।
जानाजान लाइको सरकारले आफूहरूसँग शत्रुता बढाएको चीनको भनाइ छ। गत महिनाको सैन्य अभ्यासलाई चीनले ताइवानीहरूलाई झुक्याउने छलकारी कदम भनेको थियो।
ताइवानले गर्ने कुनै पनि स्वतन्त्रताको औपचारिक घोषणाले चीनबाट आक्रमण निम्त्याउन सक्छ। किनकि चीनको कानुनले ताइवानको स्वतन्त्रतालाई रोक्न गैरशान्तिपूर्ण माध्यम अपनाउने उल्लेख गरेको छ।
लाइ भने ताइवान सार्वभौम राष्ट्र भएकाले औपचारिक रूपमा स्वतन्त्रता घोषणा गर्न आवश्यक नभएको तर्क गर्छन्।
वक्तव्यबाजीका अलावा चीनले ताइवानी आकाश र समुद्रमा झन् धेरै विमान र युद्धपोत पठाउन थालेको छ।
अमेरिकाले दाबी गरेअनुसार २०२७ मा ताइवान आक्रमणको तयारीलाई चीनले कहिल्यै पुष्टि गरेन। तर, उसले सेना, नौसेना र हतियारमा स्पष्ट रूपमा वृद्धि गरेको छ।
चीनले साँच्चै आक्रमणको योजना बनाइरहेको छ कि छैन भन्नेमा विज्ञहरू पनि विभाजित छन्। तर, बढ्दो तनाव र बढ्दो तयारीले झडपको सम्भावना बढाउने उनीहरूको भनाइ छ।

किनारामा डुंगाबाट अवतरण, क्षेप्यास्त्र आक्रमण र तोडफोड
ताइवानमा आक्रमण गर्न चीनसँग अनेकौँ उपाय छन्। ताइवानी किनारामा डुंगाबाट अवतरण गर्नु र क्षेप्यास्त्र प्रहार गर्नुका अलावा उसले हवाइ र समुद्री नाकाबन्दी पनि लगाउन सक्छ। अथवा समुद्रमुनिबाट ल्याइएको सञ्चारका तार पनि काटिदिन सक्छ।
ताइवानको सरकारी लगानीका टीभी सिरिजहरूमा काल्पनिक चिनियाँ आक्रमणका यस्ता परिदृश्य अनेकौँ पटक देखाइएको छ।
तर केही, खासगरी ताइवानको सरकार चीनले सूक्ष्म आक्रमण थालिसकेको विश्वास गर्छन्। त्यो हो– साधारण ताइवानी जनताको मन जित्नु।
आधिकारिक रूपमा चीनले ताइवानसँगको व्यापार, आर्थिक र सांस्कृतिक सम्बन्धलाई प्रोत्साहन गरिरहेको छ।
अनौपचारिक रूपमा बेइजिङले प्रचारबाजी र मान्छेहरूलाई प्रभावित तुल्याउने कारबाही गरिरहेको सरकारी अधिकारीहरूको दाबी छ।
गत मार्चमा राष्ट्रपति लाइले ताइवानको अर्थतन्त्र, संस्कृति, मिडिया र सरकारमा समेत चीनको प्रभाव बढ्दै गएको भन्दै त्यसलाई रोक्न अनेकौँ योजना घोषणा गरेका छन्।
चीनका लागि जासुसी गरेको आरोप लगाएका ताइवानी सैन्य अधिकारीहरूलाई जेल हालिएको छ, लाइकै एक पूर्वसहयोगीलाई पनि जासुसीको अभियोग लगाइएको छ।
चीनप्रति मित्रवत् ताइवानी सेलेब्रिटी, समाजिक सञ्जाल प्रयोगकर्ता र चिनियाँ नागरिकसँग विवाह गरेका ताइवानीहरू छानबिन परेका छन्, केहीलाई डिपोर्ट गरिएको छ।
चीनसँग निकट रहेको आरोप लगाएर विपक्षी नेताहरूलाई लखेट्ने अभियानलाई पनि लाइले तीव्रता दिएका छन्। जुन ठूलो विवादमा परेको छ।
‘लाइको मति बिग्रियो’
रक्षा बजेट बढाउने योजनालाई मान्छेहरूले समर्थन गरेका छन्। आधा जनसंख्या अमेरिकाबाट हतियार किन्ने पक्षमै छ। तर, मानिसहरूले असहज महसुस पनि गरेका छन्।
रक्षामा बढ्दो खर्च र लाइको उक्साहटले चीनलाई झस्काइरहेको र त्यसले युद्धतर्फ लैजाने खतरा रहेको धारणा धेरैमा देखिन्छ।
‘चीन निकै सरल छ भन्ने मलाई लाग्छ,’ किनमेनकी चेन भन्छिन्, ‘जबसम्म हामी स्वतन्त्रता चाहन्छौँ भन्दैनौँ, तबसम्म चीनले हामीलाई केही गर्दैन। तर, विलियम लाइ चीनबारे जसरी कुरा गर्छन्, उनको मति बिग्रेको देखिन्छ। यसले उनीहरूको रिस बढाउँछ। के थाहा, कुन दिन सी चिनफिङ बेस्मारी रिसाउँछन् र हामीमाथि आक्रमण गर्छन्।’
सर्वेक्षणमा सधैँ के देखिन्छ भने अधिकांश ताइवानी जनता यथास्थिति चाहन्छन्। अर्थात् उनीहरू न चीनसँग एकता चाहन्छन्, न स्वतन्त्रता घोषणा गर्न।
विपक्षी कोमिन्ताङ पार्टीको आरोप छ– सत्तारुढ डीपीपी चिनियाँ आक्रमणको त्रास फैलाएर राजनीतिक समर्थन जुटाउन खोजिरहेको छ।
‘डीपीपी सरकारले चीनलाई अनावश्यक रूपमा मौखिक आक्रमण गरेर ताइवानको स्थिरता खल्बल्याइरहेको छ,’ कोमिन्ताङका नेता अलेक्जेन्डर हुवाङ भन्छन्।
कोही भने ताइवानले चीनविरुद्ध कडा अडान लिनुपर्ने पक्षमा छन्।
‘नागरिकहरूले के बुझ्नुपर्छ भने चीन ताइवानका लागि खतरा हो र उसले बलप्रयोग गर्न सक्छ, अहिले उसले त्यसैको तयारी गरिरहेको छ,’ सेन भन्छन्, ‘त्यसैले राष्ट्रिय सुरक्षा अधिकारीहरू र सेनाले त्यसका लागि तयारी गर्नैपर्छ।’ बीबीसीबाट
Shares

प्रतिक्रिया