बुधबार बेइजिङको आकाश लडाकु विमानको आवाजले गुञ्जायमान हुनेछ भने तियानमेन चोकमा ट्यांकको लस्कर लाग्नेछ। अत्याधुनिक चिनियाँ हतियारहरूको प्रदर्शनी छुट्ने कुरै भएन।
किनकि सी चिनफिङले भव्य सैन्य परेडको अध्यक्षता गर्दैछन्।
दर्शकदीर्घामा दुई दर्जन विश्व नेताहरू हुने छन्। रुसका भ्लादिमिर पुटिन, उत्तर कोरियाका किम जोङ उनदेखि नेपालका केपी शर्मा ओलीसम्म।
भर्खरै सांघाई सहयोग संगठनको शिखर बैठकमा आफ्नो कूटनीतिक शक्ति प्रदर्शन गरेका सीका लागि दोस्रो विश्वयुद्धमा जापानमाथि विजयको ८० औँ वर्षगाँठको अवसरमा गरिने यो परेड सैन्य शक्ति प्रदर्शनको मौका हुनेछ। जसको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

बेइजिङको सुरक्षा व्यवस्था कडा पारिएको छ। परेडको पूर्वअभ्यासमा ४० हजार सैनिकका अलावा नागरिक र कर्मचारीहरू सहभागी भएका छन्।
माओको विशाल तस्बिरवरिपरि ठुल्ठूला चिनियाँ झण्डा फहराइएका छन्। ग्रेट हल अफ द पिपुलको नजिकै विशाल पुष्पगुच्छा तयार गरिएको छ भने ५० हजार पाहुनाहरूलाई बस्ने व्यवस्था मिलाइएको छ।

परेडमा दोस्रो विश्वयुद्धमा चीनले खेलेको भूमिकालाई महत्त्व दिइनेछ। २०१५ मा भएको परेडमा पुराना योद्धाहरूलाई पनि सहभागी गराइएको थियो। चीनले हरेक दस वर्षमा युद्ध अन्त्य वर्षगाँठ भव्यताका साथ मनाउने गर्छ।
तर, परेडको मुख्य आकर्षण भने चीनले सार्वजनिक गर्ने नयाँ हतियारहरू हुनेछन्। सीले चिनियाँ सेनालाई विश्वस्तरीय बनाउने लक्ष्य लिएका छन्। पछिल्लो दशकमा चीनले सैन्य प्रविधिका क्षेत्रमा पनि ठूलो फड्को हानेको छ।

त्यसैले चीनले आणविक शस्त्र सुसज्जित अन्दरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र, नयाँ पुस्ताको ट्यांक र अनेकौँ आधुनिक हतियार प्रदर्शन गर्नेछ।

त्यसमध्ये पूर्वअभ्यासबाट युद्धपोतमा प्रहार गरिने हाइपरसोनिक क्षेप्यास्त्रको तस्बिर बाहिरिएको छ।
यी हतियारहरू अमेरिकी नौसेनालक्षित हुन्। जो लडाइँ भएमा ताइवानको रक्षार्थ आउन सक्छन्। एजेन्सी
Shares

प्रतिक्रिया