ग्लोबल


‘क्यारिअर किलर’देखि ‘गुआम किलर’सम्म : यी हुन् परेडमा चीनले देखाएका मुख्यमुख्य हतियार

‘क्यारिअर किलर’देखि ‘गुआम किलर’सम्म : यी हुन् परेडमा चीनले देखाएका मुख्यमुख्य हतियार

नेपालखबर
भदौ १८, २०८२ बुधबार १०:८,

विश्वयुद्ध समाप्तिको ८० औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुककै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गरेका छन्। 

परेडलाई सम्बोधन गर्दै सीले संसारले यतिबेला पुनः युद्ध र शान्तिको प्रश्नको सामना गरिरहेको बताए। यसमा चीन सत्यको पक्षमा उभिने उनको भनाइ थियो। दोस्रो विश्वयुद्धजस्तो त्रासदी फेरि घटित हुन नदिन मुलुकहरूले मिलेर काम गर्नुपर्ने बताए। 

आफ्नो छोटो भाषण उनले चीनको उदयलाई कसैले रोक्न नसक्ने र मानवताका शान्तिपूर्ण विकासले निश्चय नै विजय हासिल गर्ने घोषणा गर्दै टुंग्याएका थिए।

परेडमा रुसका भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाका किम जोङ उनसम्मका नेताहरू सहभागी भए। जहाँ चीनले आफ्ना अत्याधुनिक हतियार पनि प्रदर्शन गर्‍यो। चीनले प्रदर्शन गरेका मुख्यमुख्य हतियार प्रकार छन् :

दुई सिटे जे–२०
परेडमा चीनको प्रमुख लडाकु विमानको सबैभन्दा पछिल्लो भेरियन्ट देखाइएको छ। दुई सिटे जे–२०एस विमानले लडाकु ड्रोनहरूलाई नियन्त्रण गर्न सक्छ। त्यस्तै जे–३५ए विमान पनि परेडमा देखियो। जुन गत नोभेम्बरमा मात्र सार्वजनिक भएको थियो। यो विमानले ६ वटा क्षेप्यास्त्र बोक्न सक्छ।

एच–६जी बमवर्षक
लामो दूरीमा बमवर्षा गर्न सक्ने एच–६ विमानकै नयाँ नौसैनिक भेरियन्टका रुपमा एच–६जे विमान प्रदर्शन गरिएको छ। यसको इन्जिन अपग्रेड गरिएको बताइएको छ।

‘क्यारिअर किलर’ क्षेप्यास्त्र
चीनले भर्खरै सार्वजनिक गरेको वाईजे–१५ क्षेप्यास्त्र पनि परेडमा देखियो। यो पानीजहाजमा प्रहार गरिने क्षेप्यास्त्र प्रणाली हो। 

त्यसका अलावा वाईजे–१९ हाइपरसोनिक क्षेप्यास्त्र पनि पहिलोपटक सार्वजनिक भयो। यसका बारेमा ज्यादा जानकारी सार्वजनिक गरिएको छैन। तर यो युद्धपोत ध्वस्त पार्न प्रयोग गरिने हाइपरसोनिक ग्लाइड भेहिकल हतियार भएको अनुमान छ।

त्यस्तै, वाईजे–२० ब्यालिस्टिक मिसाइल पनि परेडमा देखियो। यसले जमिन र पानी दुवै स्थानमा निसाना लगाउन सक्छ। त्यसैले यसलाई ‘एयरक्राफ्ट क्यारिअर किलर’ भन्ने गरिन्छ।

सीजे–१००० हाइपरसोनिक क्रुज क्षेप्यास्त्र
चीनले परेडमा लामो दूरीमा प्रहार गर्ने यो हाइपरसोनिक क्रुज क्षेप्यास्त्र पनि प्रदर्शन गर्‍यो। यसले हजारौँ किलोमिटर टाढा निसाना लगाउन सक्ने बताइएको छ।

‘गुआम किलर’ डीएफ–२६डी
परेडमा चीनले एकदमै नयाँ डीएफ–२६डी क्षेप्यास्त्र पनि प्रदर्शन गर्‍यो। यो मध्यम दूरीमा प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र हो। जसको मारक क्षमता ५ हजार किलोमिटर छ।

ताइवानमा युद्धको अवस्थामा गुआममा रहेको अमेरिकी सैन्य अखडाले मुख्य भूमिका खेल्नेछ। त्यस्तो अवस्थामा चिनियाँ सेनाले यही हतियारद्वारा गुआमलाई निसाना बनाउने अनुमान छ। त्यसैले यसलाई ‘गुआम किलर’ भन्ने गरिन्छ। 

हवाइ प्रतिरक्षा प्रणाली
शत्रुको आक्रमणलाई रोक्ने हवाइ प्रतिरक्षा प्रणाली एकदमै महँगो हतियार हो। चीनले यस्ता अनेकौँ प्रणाली परेडमा प्रदर्शन गरेको छ। 

चीनले पहिलोपटक एचक्यू–२० प्रणाली सार्वजनिक रुपमा प्रदर्शन गर्‍यो।

त्यस्तै १७० किलोमिटर टाढासम्म रेन्ज भएको एचक्यू–२२ए, २५० किलोमिटर रेन्ज भएको एचक्यू–९ र ब्यालिस्टिक क्षेप्यास्त्र तथा स्याटलाइट खसाउन प्रयोग हुने एचक्यू–१९ पनि परेडमा देखियो। 

यसका अलावा नवनिर्मित एचक्यू–२९ प्रणाली पनि परेडमा सहभागी थियो। जसलाई ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न बनाइएको हो।

तोप र ट्यांक
चीनले अमेरिकाको हाइमार्स रकेट लन्चरलाई टक्कर दिन पीएचएल–१६ रकेट लन्चर बनाएको छ। त्यो पनि परेडमा देखिएको थियो।

त्यस्तै ९९बी ब्याटल ट्यांक पनि पहिलोपटक परेडमा देखा पर्‍यो।

ड्रोन
चीनले यो परेडमार्फत अनेक किसिमका हवाइ तथा समुद्री ड्रोन पनि प्रदर्शन गर्‍यो।

जीजे–११, एफएज–९७ जस्ता ड्रोन देखा परे। त्यस्तै नाम समेत सार्वजनिक नभएका नयाँ एआई प्रविधियुक्त ड्रोन पनि देखाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad