दोस्रो विश्वयुद्धमा जापानको हारको ८० औँ वर्षगाँठ मनाउँदै गर्दा बुधबार चीनले बेइजिङमा आयोजित परेडमा अनेकौँ नयाँनयाँ हतियार प्रदर्शन गर्यो। यो परेडमा चीनले केही ‘सरप्राइज’ समेत दिएको छ। ती यसप्रकार छन् :
जमिन र समुद्र दुवै ठाउँबाट हान्न मिल्ने नयाँ आणविक क्षेप्यास्त्र
अन्तरमहादेशीय क्षेप्यास्त्रमा केही आश्चर्यजनक प्रदर्शन चीनले गरेको छ। परेडमा डीएफ–६१, डीएफ–३१बीजे, डीएफ–५सी र पन्डुब्बीबाट प्रहार गरिने जेएल–३ जस्ता हतियार देखिए।
त्यसमध्ये यो परेडअघि डीएफ–६१ र डीएफ–३१बीजे कहिल्यै सार्वजनिक भएका थिएनन्।
त्यस्तै डीएफ–५ सी र जेएल–३ सबैभन्दा आधुनिक हतियार मानिन्छन्।
सोही कारण परेडको मुख्य आकर्षणमध्ये एउटा ब्यालिस्टिक क्षेप्यास्त्रहरू रहे। यी सबै हतियारले ५५ सय किमिभन्दा टाढाको दूरीमा प्रहार गर्न सक्छन्।

डीएफ–६१ बारे कुनै जानकारी सार्वजनिक छैन। तर, डीएफ–४१ भन्दा आधुनिक हुनाले यसले १५ हजार किमिसम्म प्रहार गर्ने अनुमान छ।
डीएफ–३१ ले ११ हजार २०० किमि मार हान्न सक्छ।
चीनले प्रदर्शन गरेको आफ्नो पहिलो अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको नयाँ भेरियन्ट डीएफ–५सी ले १३ हजार किमिभन्दा टाढा निसाना लगाउन सक्छ।
यसको पहिलो परीक्षण २०१७ मा गरिएको थियो। यसले १० वटा बेग्लाबेग्लै एमआईआरभी बोक्छ। प्रत्येक एमआरआईभीभित्र पनि छुट्टाछुट्टै स्थानमा निसाना लगाउन सक्ने अनेकौँ बम हुन्छन्। यो हतियारले सिंगो पृथ्वीमा जहाँसुकै निसाना लगाउन सक्ने सीसीटीभीले जनाएको छ।
पन्डुब्बीबाट प्रहार गरिने जेएल–३ पनि १० हजार किमि मार हान्ने क्षमता भएको हतियार हो, जोसँग ३ वटा एमआईआरभी हुन्छन्।
आकाशबाट प्रहार गरिने पहिलो लामो दूरीको आणविक क्षेप्यास्त्र
जमिन र समुद्रबाट टाढाटाढा हान्ने हतियार विकास गरे पनि चीनसँग आकाशबाट टाढा हान्ने हतियार थिएन। त्यसैले तीन आणविक अस्त्रमध्ये एउटा चीनसँग नभएको बताइन्थ्यो। तर, यो परेडमा चीनले यस्तो हतियार पनि पहिलोपटक सार्वजनिक गरेको छ। त्यो हतियार हो– जेएल–१।
सीसीटीभीका अनुसार यो चिनियाँ सेनाको ‘जमिन, समुद्र र आकाशको त्रिशंकु रणनीतिक आणविक शक्तिको प्रदर्शन’ हो।
नयाँ हाइपरसोनिक क्षेप्यास्त्र
हाइपरसोनिक अर्थात् अत्यन्त तीव्र गतिका हतियारतर्फ पनि चीनले डीएफ–२६डी क्षेप्यास्त्र सार्वजनिक गरेको छ।
५ हजार किमिसम्म प्रहार गरिने डीएफ–२६ लाई ‘गुआम किलर’ भन्ने गरिन्छ। यसको नयाँ भेरियन्ट डीएफ–२६डी खासगरी युद्धपोतमा प्रहार गर्न बनाइएको छ।
ब्यालिस्टिक क्षेप्यास्त्रका अलावा चीनले सीजे–१००० नामक हाइपरसोनिक क्रुज क्षेप्यास्त्र पनि सार्वजनिक गर्यो।
यो हतियारबारे ज्यादा जानकारी सार्वजनिक छैन। तथापि, यसले लामो दूरी मार हान्ने अनुमान गरिएको छ।

विमानवाहक युद्धपोतलाई निसाना बनाउने नयाँ क्षेप्यास्त्र
अमेरिका र चीन नौसैनिक शक्तिमा एकअर्कालाई उछिन्ने कोसिसमा छन्। सोहीकारण चीनले पछिल्लो समय जलयुद्धमा काम लाग्ने अनेकौँ हतियार विकास गरेको छ। जो अमेरिकी सैन्य शक्तिविरुद्ध लक्षित छन्।
यस्ता हतियारमध्ये बुधबारको परेडमा वाईजे–१५, वाईजे–१७, वाईजे–१९ र वाईजे–२० जस्ता हाइपरसोनिक क्षेप्यास्त्र देखाइएको थियो। यी हतियारहरू युद्धपोतबाट उड्ने विमान, युद्धपोतहरू र पन्डुब्बीमा तैनाथ हुन्छन्।
नयाँ बख्तरबन्द गाडी
स्थल सेनाका लागि बुधबार चीनले टाइप ९९बी र टाइप १०० नामक दुईखाले ट्यांक सार्वजनिक गर्यो।
९९बी यसअघि भारतको सीमानजिक तिब्बतमा आयोजित सैन्य अभ्यासमा प्रयोग गरिएको थियो।
टाइप १०० चाहिँ चीनको चौथो पुस्ताको ट्यांक मानिन्छ। यसको तस्बिर पहिलोपटक परेडभन्दा केही दिनअघि मात्र सार्वजनिक भएको थियो।

‘लोयल विङम्यान’
चीनको ड्रोन अर्थात् मानवविहीन विमान शक्ति पनि कम छैन। परेडमा जीजे–११ को प्रदर्शन गरियो। जुन, हतियार ओसार्नुका साथै सटिक निसाना लगाउनका लागि बनाइएको छ।
यो हतियारको डिजाइन रेडारमा हतपत्त नदेखिनेगरी गरिएको छ भने यसमा दुईतिर हतियार राख्ने ठाउँछ। सीसीटीभीले यसलाई लडाकु विमानहरूको ‘लोयल विङम्यान’ अर्थात्, बफादार सहयोगी नाम दिएको छ।
शक्तिराष्ट्रहरूले छैटौँ पुस्ताको लडाकु विमानका लागि यही क्षमता, अर्थात् ड्रोनलाई नियन्त्रण गर्ने क्षमता विकास गर्ने प्रयास गरिरहेका छन्।
जीजे–११ अलावा अरु नाम थाहा नभएका तीनखाले ड्रोन पनि चीनले प्रदर्शन गरेको छ।
परेडमा पहिलोपटक युद्धपोतबाट उड्ने विमान
चीनले पछिल्लो समय नौसेना र वायु सेनामा ज्यादा जोड दिएको यो परेडबाट प्रस्ट हुन्छ। किनभने उसले विमानवाहक युद्धपोतबाट उड्ने विमानहरू धमाधम विकास गरिरहेको छ।
परेडमा जे–१५टी, जे–१५डीएच, र जे–१५डीटी जस्ता विमान उडेको देखिए।
जे–३५ चीनको पाँचौँ पुस्ताको दोस्रो लडाकु विमान हो। जुन भर्खरै सार्वजनिक भएको हो। यसअघि जे–२० उसको मुख्य लडाकु विमान थियो। जे–३५ पनि युद्धपोतबाट उड्न सक्छ।

चीनले नदेखाएको हतियार
चीनले अनेकौँ हतियार देखाए पनि केही महत्त्वपूर्ण हतियारलाई चाहिँ परेडमा ल्याएन। खासगरी डीएफ–२७ र डीएफ–४१। यी क्रमशः मुलुकको सबैभन्दा अत्याधुनिक हाइपरसोनिक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र हुन्।
परेडमा यी हतियार नदेखिनु आश्चर्यजनक भएको टिप्पणी गरिएको छ। यद्यपि, उसको जोड सबैभन्दा नयाँ हतियार प्रदर्शनमा रहेकाले यी हतियार छुटेको अनुमान छ।
Shares

प्रतिक्रिया