ग्लोबल


पार्टीलाई फुटबाट जोगाउन जापानी प्रधानमन्त्रीले राजीनामा दिँदै

यी हुन् भावी प्रधानमन्त्रीका मुख्य दाबेदार
पार्टीलाई फुटबाट जोगाउन जापानी प्रधानमन्त्रीले राजीनामा दिँदै

नेपालखबर
भदौ २२, २०८२ आइतबार १५:१५,

जापानी प्रधानमन्त्री सिगेरु इसिबाले आइतबार राजीनामा दिने सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। ६८ वर्षीय इसिबाले साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन्।

उनी एक वर्षअघि मात्र प्रधानमन्त्री बनेका थिए। तर, त्यसयता उनको गठबन्धनले संसदका दुवै सदनको बहुमत गुमाएको छ। जीविका खर्च महँगिएपछि मतदाताहरू उनको लिबरल डेमोक्र्याटिक पार्टीसँग रिसाएका छन्। सो पार्टीले दोस्रो विश्वयुद्धयता लगभग सबै समय जापानको सत्ता चलाउँदै आएको छ।

जुलाईमा माथिल्लो सदनको बहुमत गुमेपछि उनलाई राजीनामा दिन पार्टीभित्रै चर्को दबाब पर्दै आएको छ। यतिञ्जेल अमेरिकासँगको व्यापार सम्झौता देखाएर उनले सो दबाबलाई टार्दै आएका थिए।

पार्टीले सोमबार नेताको चुनाव गर्ने कि नगर्ने भन्ने निर्णय गर्न मतदान आयोजना गरेको छ। त्यसअघि नै उनले राजीनामा दिने बताइएको छ।

उनको राजीनामापछि दलको नेताको चुनाव हुनेछ। बहुमत नभएकाले नेता चुनिए पनि प्रधानमन्त्री बन्ने ग्यारेन्टी छैन। तैपनि विपक्षीभन्दा एलडीपी शक्तिशाली भएकाले प्रधानमन्त्री सोही पार्टीले पाउने सम्भावना ज्यादा छ।

एलडीपीमा दलको नेताको सबैभन्दा मुख्य दाबेदार ६४ वर्षीया सानाए ताकाइची हुन्। उनी जापानको प्रथम महिला प्रधानमन्त्री बन्न पनि सक्छिन्। उनले गृह, आर्थिक सुरक्षाजस्ता मन्त्रालय सम्हालिसकेकी छन्।

अघिल्लो वर्ष उनी इसिबासँग पराजित भएकी थिइन्।

त्यस्तै, राजनीतिक घरानाका ४४ वर्षीय सिनजिरो कोइजुमी पनि जापानको आधुनिक युगको कान्छा प्रधानमन्त्री बन्न सक्छन्। गत वर्ष दलको नेतामा पराजित भए पनि अहिले उनी कृषिमन्त्रीका रुपमा इसिबा निकट नै छन्।

त्यस्तै चिफ क्याबिनेट सेक्रेटरी रहेका योसिमासा हायसीको नाम पनि चर्चामा छ। ६४ वर्षीय हायासीले विगतमा रक्षा, विदेश र कृषिजस्ता मन्त्रालय सम्हालिसकेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad