जापानका प्रधानमन्त्री सिगेरु इसिबाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसद्को माथिल्लो सदनमा बहुमत गुमाएको थियो।
त्यसबेलादेखि इसिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण भएको भनिएको थियो।
जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ।
सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा नै तल्लो सदनमा बहुमत गुमाएको थियो।
चुनावको समयमा प्रधानमन्त्री इसिबाले आफू पदमा रहने बताएका थिए।
उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणका रूपमा उल्लेख गरेका थिए।
इसिबाले त्यतिबेला भनेका थिए, ‘जापानले अगस्ट १ सम्ममा अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो।’
उनको राजीनामापछि दलको नेताको चुनाव हुनेछ। बहुमत नभएकाले नेता चुनिए पनि प्रधानमन्त्री बन्ने ग्यारेन्टी छैन। तैपनि विपक्षीभन्दा एलडीपी शक्तिशाली भएकाले प्रधानमन्त्री सोही पार्टीले पाउने सम्भावना बढी छ।
एलडीपीमा दलको नेताको सबैभन्दा मुख्य दाबेदार ६४ वर्षीया सानाए ताकाइची हुन्। उनी जापानको प्रथम महिला प्रधानमन्त्री बन्न पनि सक्छिन्। उनले गृह, आर्थिक सुरक्षाजस्ता मन्त्रालय सम्हालिसकेकी छन्।
अघिल्लो वर्ष उनी इसिबासँग पराजित भएकी थिइन्।
त्यस्तै राजनीतिक घरानाका ४४ वर्षीय सिनजिरो कोइजुमी पनि जापानको आधुनिक युगको कान्छा प्रधानमन्त्री बन्न सक्छन्। गत वर्ष दलको नेतामा पराजित भए पनि अहिले उनी कृषिमन्त्रीका रूपमा इसिबानिकट नै छन्।
त्यस्तै चिफ क्याबिनेट सेक्रेटरी रहेका योसिमासा हायसीको नाम पनि चर्चामा छ। ६४ वर्षीय हायासीले विगतमा रक्षा, विदेश र कृषिजस्ता मन्त्रालय सम्हालिसकेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया