ग्लोबल


सबै बन्धक रिहा गर्न हमास तयार, विपिन जोशीको पनि अवस्था सार्वजनिक हुने आशा

सबै बन्धक रिहा गर्न हमास तयार, विपिन जोशीको पनि अवस्था सार्वजनिक हुने आशा

प्रख्यात हमास नेता मुसा अबु मरजुक (बीचमा)।


नेपालखबर
असोज १८, २०८२ शनिबार १३:१०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएको ६ घण्टापछि हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ।

हमासले शुक्रबार राति ट्रम्पको योजनामा ​​उल्लेख गरिएअनुसार सबै मृत र जीवित कैदी रिहा गर्न र गाजाको नियन्त्रण त्याग्न तयार रहेको घोषणा गरेको हो। 

हमासले यसै हप्ता राष्ट्रपति ट्रम्पले प्रस्तुत गरेको २०-बुँदे शान्ति सम्झौताका केही पक्षमा भने वार्ता आवश्यक रहेको बताएको छ।

अल जजीराको रिपोर्टअनुसार, हमासको प्रतिक्रियामा हतियार आत्मसमर्पण गर्ने कुरा उल्लेख गरिएको छैन।

हमासको घोषणापछि ट्रम्पले इजरायललाई गाजामा तुरुन्तै आक्रमण बन्द गर्न आह्वान गरेका छन्।

यसैबीच इजरायलले ट्रम्पको गाजा योजना कार्यान्वयन गर्न आफ्नो तयारी रहेको बताएको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुको कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायल ट्रम्पको योजनाको पहिलो चरण कार्यान्वयन गर्न तयार रहेको र युद्ध अन्त्य गर्न ट्रम्प र उनको टोलीसँग काम गर्ने बताएको छ।

यससँगै इजरायल गाजामा आफ्नो आक्रमण रोक्न सहमत भएको छ।

इजरायल सरकारले गाजामा आफ्नो कब्जा अभियान रोक्न सेनालाई आदेश दिएको छ। आवश्यक पर्दा मात्र कारबाही गर्नुपर्ने बताएको छ।

हमास सबै ४८ बन्धक रिहा गर्न तयार

हमास सबै ४८ बन्धक रिहा गर्न तयार भएको छ। तीमध्ये २० जना जीवित रहेको दाबी गरिएको छ।

बन्धकमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन्। बन्धक रिहा भए उनको पनि अवस्था सार्वजनिक हुने आशा बढेको छ। 

युद्धविराम लागु भएको ७२ घण्टाभित्र बन्धकहरू रिहा गरिनेछ, बदलामा २ हजारभन्दा बढी प्यालेस्टिनी सुरक्षा बन्दी र मारिएका गाजावासीहरूको शव फिर्ता गरिनेछ।

यसपछि इजरायलले गाजाबाट आफ्नो फिर्ताको पहिलो चरण पूरा गर्नेछ। आवश्यक सर्त पूरा भएपछि मात्र बन्धक रिहा गरिनेछ। यद्यपि हमासले यी सर्तबारे थप विवरण दिएको छैन।

हमासको घोषणापछि ट्रम्पले भिडिओ जारी गर्दै दिनलाई धेरै विशेष दिन भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad