ग्लोबल


जापानको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न लागेकी कट्टर अनुदारवादी नेतृ

जापानको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न लागेकी कट्टर अनुदारवादी नेतृ

नेपालखबर
असोज १९, २०८२ आइतबार १९:५९,

विश्वको एउटा ठूलो आर्थिक शक्ति र प्रविधिका क्षेत्रमा अत्यन्त विकसित भएकाले जापानको जीवनस्तर अत्यन्त उच्च छ। तैपनि यो मुलुकलाई सामाजिक–सांस्कृतिक र राजनीतिक रूपमा परम्परागत मानिन्छ। किनकि,  उचनीचको खुबै ख्याल गरिन्छ, अझै पनि महिलाहरूले घरभित्रको भूमिकामा जोड दिऊन् भन्ने अपेक्षा गरिन्छ। 

राजनीतिक हिसाबले पनि जापानीहरू आमूल परिवर्तनलाई रुचाउँदैनन्। सोही कारण १९५५ यता  लगभग सबै समय एउटै पार्टीले शासन चलाउँदै आएको छ।

शान्त तलाउजस्तो जापानी जनजीवनमा एक महिलाले एउटा ढुंगा हानेकी छन्। उनको नाम हो सानाए तकाइची। जो जापानको प्रथम महिला प्रधानमन्त्री बन्ने भएकी छन्। ६४ वर्षीया तकाइची शनिबार सत्तारुढ एलडीपीको नेता चुनिएकी छन्।

रोचक भनौँ वा विडम्बनाको कुरा– कुनै आमूल परिवर्तन पक्षधर भएर उनले जापानी समाजमा यो कीर्तिमान कायम गर्न लागेकी होइनन्। बरु, उनी त कट्टर परम्परावादी नीतिका कारण चिनिएकी व्यक्ति हुन्। कतिसम्म भने विवाहित महिलाले आफ्नो पुरानै थर लेख्न पाउने कानुन बनाउने प्रयासविरुद्ध उनी उभिएकी छन्। यसले पतिको थर अँगाल्ने परम्परा तोड्ने उनको तर्क छ। हाल जापानमा पति–पत्नी दुवैले एउटै थर राख्नुपर्ने कानुन छ। सामान्यतः महिलाहरूले पतिको थर अपनाउने गर्छन्।

त्यस्तै, राजाका छोरा मात्रै गद्दीको हकदार हुने परम्पराको पक्षमा उनी उभिँदै आएकी छन्।

अनेक पटक मन्त्री भइसकेकी उनी सिन्जो आबेको शिष्या थिइन्। बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरलाई रोल मोडल मान्ने तकाइची जापानको ‘आइरन लेडी’ बन्न चाहन्छिन्।

यो सफलता उनले रातारात प्राप्त गरेकी होइनन्। वर्षौंदेखिको योजनाबद्ध चाल चल्दै उनी यहाँसम्म आइपुगेकी हुन्। तेस्रो प्रयासमा प्रतिद्वन्द्वी सिनजिरो कोइजुमीलाई १५६ विरुद्ध १८५ मतले हराउँदै दलको नेतामा उनी विजयी भएकी हुन्। 

तपाईंले प्रधानमन्त्री हुन्छु भनेर पहिलो पटक कहिले सोच्नुभयो भन्ने एक प्रश्नमा हालै उनले दिएको जवाफ थियो,  ‘म २४ वर्षको हुँदा। किन? म जापानलाई धेरै माया गर्छु।’

ड्रमरदेखि टेलिभिजन प्रस्तोतासम्म
१९६१ मा जापानको नारा प्रान्तमा जन्मेकी तकाइसीका पिता कर्मचारी थिए भने आमा प्रहरी अधिकारी। हुर्किंदासम्म उनको राजनीतिसँग कुनै साइनो थिएन।

कुनै समय उनी हेभी मेटल ड्रमर थिइन्। ड्रम बजाउँदा स्टिक बारम्बार भाँच्ने हुनाले उनी धेरैवटा स्टिक बोक्ने गर्थिन्। स्कुबा डाइभिङ र कारमा पनि उनको विशेष रुचि थियो। उनको प्रिय टोयोटा सुप्रा कार अहिले नारा संग्रहालयमा प्रदर्शनमा राखिएको छ।

राजनीतिमा प्रवेश गर्नुअघि छोटो समयका लागि उनले टेलिभिजन प्रस्तोताका रूपमा पनि काम गरिन्।

१९८० को दशकमा जापान र अमेरिकाबीच व्यापारलाई लिएर तनाव चलिरहेको थियो। जापानप्रतिको अमेरिकी धारणा बुझ्न उनले तत्कालीन अमेरिकी सांसद प्याट्रिसिया स्रोयडरको कार्यालयमा काम गरिन्। जो जापानको खरो आलोचना गर्थिन्। 

अमेरिकीहरू जापानी भाषा र खानपिनबाट कोरियाली र चिनियाँ भाषा तथा खानपिन छुट्याउन सक्दैनन् भन्ने उनले देखिन्। त्यसैले उनले निष्कर्ष निकालिन्, ‘जबसम्म जापानले आफ्नो रक्षा आफैँ गर्न सक्दैन, तबसम्म जापानको भविष्य अमेरिकाको छिपछिपे धारणामा निर्भर हुनेछ।’

तकाइची पहिलो पटक १९९२ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठिन्। उनको हार भयो। तर उनले हार मानिनन्।

अर्को वर्ष उनले संसदीय चुनाव जितिन्। १९९६ मा एलडीपीमा प्रवेश गरिन्। त्यसयता उनले १० पटक चुनाव जितिसकेकी छन्। मान्छेहरूले उनलाई सबैभन्दा मुखर कन्जरभेटिव आवाज ठान्ने गर्छन्।

२००६ मा पहिलो पटक मन्त्री भएकी उनले गृह, सञ्चार, आर्थिक सुरक्षा र व्यापार तथा उद्योग मन्त्रालय पनि सम्हालिसकेकी छन्।

२०२१ मै उनी एलडीपीको दलको नेता बन्न चाहन्थिन्। तर, त्यसबेला उनी फुमियो किसिदासँग पराजित भइन्। २०२४ मा उनले दोस्रो प्रयास गरिन्। यस पटक सिगेरु इसिबाले उनलाई हराए।

यसपालि तेस्रो प्रयासमा उनले चाहेको जित हात पारिन्। र, जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नाम लेखाउने अवसरको ढोका खोलिन्।

‘मेरो लक्ष्य भनेको आइरन लेडी बन्ने हो,’ हालै एक कार्यक्रममा उनले स्कुले बालबालिकासामु भनेकी छन्।

दलको नेता बन्ने प्रयासमा उनले आफ्ना कतिपय कट्टर अडानहरूलाई नरम बनाएकी छन्। पछिल्लो अभियानमा उनले बालबच्चाको हेरचाह गर्नेलाई तिरिने शुल्कमा आंशिक कर छुट दिने र अफिसमै बच्चाबच्चीको हेरचाहको सुविधा दिने कम्पनीहरूलाई कर्पोरेट करमा छुट दिने प्रस्ताव पनि गरेकी छन्।

‘म त्यस्तो समाज सिर्जना गर्न चाहन्छु, जहाँ मान्छेहरूले बच्चा जन्माउँदा वा तिनको हेरचाहका लागि आफ्नो करिअर छाड्नु नपरोस्,’ हालै उनले भनेकी छन्। 

उनले सिन्जो आबेको आर्थिक मोडल ब्युँताउने घोषणा गरेकी छन्। त्यो भनेको सार्वजनिक खर्च बढाउने र ब्याजदर कम राख्ने हो। 

युद्ध अपराधी ठहर भएका जापानीहरूको चिहान नियमित भ्रमण गर्ने उनको कार्यले विवाद सिर्जना गर्ने गरेको छ।

पछिल्लो समय जापान आफ्नो सैन्य शक्ति निर्माणमा जुटेको देखिन्छ। तर, संविधानले जापानी सेनालाई आक्रमणको क्षमता हासिल गर्न निषेध गरेको छ। ती संवैधानिक व्यवस्था बदल्नुपर्ने पक्षमा तकाइची उभिएकी छन्।

१९५५ मा स्थापना भएयता जापानको शासन एलडीपीकै हातमा छ। तर, धिमा अर्थतन्त्र, घट्दो र बुढो हुँदै गएको जनसंख्या र सामाजिक असन्तुष्टिका कारण सो पार्टीप्रति समर्थन घट्दो छ।

एलडीपीको दक्षिणपन्थी कित्तामा पर्छिन् तकाइची। उनलाई पार्टी नेता चुनेर एलडीपी पछिल्लो समय प्रभाव बढाइरहेको चरम दक्षिणपन्थी सानसेइतो पार्टीका मतदातालाई आकर्षित गर्ने प्रयासमा देखिन्छ। ‘जापान फस्ट’ नारा दिने सानसेइतो पार्टीले पछिल्लो चुनावमा एकबाट एकैचोटि १५ सिटमा जित दर्ता गरेको थियो।

जापानको भविष्यका लागि एलडीपी बदलिनुपर्ने र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्ने तकाइचीको भनाइ छ। उनलाई संसदले प्रधानमन्त्रीमा अक्टोबर १५ का दिन अनुमोदन गर्ने छ। 

तकाइचीको व्यक्तिगत जीवनको रोचक तथ्य के हो भने उनले एकै व्यक्तिसँग दुई पटक बिहे गरेकी छन्। सन् २००४ मा उनले सांसद तथा तीन सन्तानका पिता ताकु यामामोतोसँग विवाह गरिन्। उनी आफैँले भने सन्तान जन्माइनन्।

२०१७ मा उनीहरूबीच सम्बन्धविच्छेद भयो। राजनीतिक मतभेद र अलग महत्त्वाकांक्षाका कारण छुट्टिएका उनीहरूले २०२१ मा पुनः विवाह गरे।

दोस्रो पटकको विवाहपछि यामामोतोले उनको तकाइची थर लिएका छन्। यसै वर्ष यामामोतोको शरीरको दायाँ भाग प्यारालाइज्ड भएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad