ग्लोबल


संसदीय व्यवस्था नहुनु अमेरिकी राजनीतिक प्रणालीको कमजोरी : ओबामा

संसदीय व्यवस्था नहुनु अमेरिकी राजनीतिक प्रणालीको कमजोरी : ओबामा

नेपालखबर
असोज २९, २०८२ बुधबार १५:८,

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले संसदीय व्यवस्था नहुनु अमेरिकी राजनीतिक प्रणालीको एउटा समस्या भएको बताएका छन्। ओबामाले डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकीहरू परीक्षामा रहेको पनि बताएका छन्।

स्ट्यान्ड अप कमेडियन मार्क म्यारोनसँगको पडकास्टमा दोस्रो कार्यकाल पूरा गरेर निवृत्त भइसकेपछिको आफ्नो भूमिकाबारे चर्चा गर्दै ओबामाले अमेरिकी राजनीतिक प्रणालीका कमजोरीमाथि टिप्पणी गरेका हुन्।

राष्ट्रपति पद छाडिसकेपछि आफ्नो भूमिका ‘खेलाडीबाट प्रशिक्षकमा’ अर्थात् भविष्यका नेताहरूलाई बाटो देखाउनमा केन्द्रित हुने अपेक्षा गरेको तर संसदीय व्यवस्था नहुँदा ट्रम्पले चुनाव जितिसकेपछि पार्टीमा नेतृत्व रिक्तता सिर्जना भएको उनको भनाइ छ।

‘मलाई लाग्छ, (त्यतिबेला) मुलुकको ठूलो हिस्सामा अत्यन्त ज्यादा आक्रोश, दुःख र डर थियो। र, अमेरिकी राजनीतिक प्रणालीको एउटा समस्या के हो भने हामीसँग राजनीतिक दलहरू भए पनि संसदीय प्रणाली छैन,’ ओबामाले भनेका छन्, ‘मेरो हकमा, म राष्ट्रपतिबाट हटिसकेपछि छाया प्रधानमन्त्री वा दलको नेता कोही थिएनन्। गतिलो काम गरिरहेका थुप्रै मान्छे थिए। तर पार्टीका तर्फबाट बोल्ने भनेर तोकिएको कोही मान्छे थिएन।’

‘त्यसपछि म दैनन्दिनको राजनीति वा टिप्पणीतिर तानिन पुगेँ– मैले चाहेभन्दा ज्यादा,’ ओबामाले भनेका छन्।

त्यस्तै उनले अहिले अमेरिकीहरू, विश्वविद्यालय, व्यवसाय, ल फर्म र मतदाता समेत मुलुकको स्थापनाकालीन मूल्यमान्त्यतामा अडिग रहन्छन् या रहँदैनन् भनेर परीक्षा भइरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad