भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको कार बम विस्फोट अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ।
विस्फोटमा परी मृत्यु भएकाको संख्या १२ पुगेको छ भने २० घाइतेको उपचार जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय समयअनुसार सोमबार साँझ ६:५२ बजे दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै कारमार्फत शक्तिशाली विस्फोट गराइएको हो।
विस्फोटमा प्रयोग गरिएको सेतो रङको आई२० कारको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। मेट्रो स्टेसन पार्किङबाट निस्किँदै गरेको कारभित्र एक जना मात्र कालो मास्क लगाएका व्यक्ति देखिएको छ।
उनी पुलवामा निवासी डा. मोहम्मद उमर नबी रहेको दाबी प्रहरीले गरेको छ। उनले आफूसहित कार विस्फोट गराएको बताइएको छ। अर्थात् उनको मृत्यु भयो।
यसै क्रममा जम्मु कश्मीर प्रहरीले डीएनए परीक्षणका लागि पुलवामामा उनका आमाबाबु र दुई भाइलाई नियन्त्रणमा लिएको छ भने साथी डा. सज्जादलाई पनि हिरासतमा राखिएको छ।
उता हरियाणाको फरिदाबादमा डा. साहिन साहिद नामकी महिलालाई पनि पक्राउ गरिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।
प्रहरीका अनुसार साहिन भारतमा जैस-ए-मोहम्मदको महिला शाखा 'जमात-उल-मोमिनत'की प्रमुख हुन्।
यसैबीच विस्फोटको लगभग २० घण्टापछि अनुसन्धानको जिम्मा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई दिइएको बताइएको छ।
Shares

प्रतिक्रिया