प्रशान्त किशोरको जन सुराज पार्टी बिहारको विधान सभा चुनावमा एकै सिटमा पनि जित हात पार्न असफल भएको छ। मोदी–नितिशको एनडीएले अत्यधिक बहुमत प्राप्त गर्दा जन सुराज कुनै पनि सिटमा अगाडि देखिएको छैन।
चुनावी रणनीतिकारका रूपमा उनले ख्याति कमाएका थिए। २०१४ मा भाजपालाई, २०१५ को बिहार विधान सभामा नितिश कुमारलाई, २०२० मा आम आदमी पार्टी र २०२१ मा पश्चिम पश्चिम बंगालमा ममता बनर्जीलाई चुनाव जित्न उनले सघाएका थिए।
यसपालि भने बिहारको मुहार फेर्ने भन्दै उनी आफैँ दल खोलेर चुनावमा सहभागी भएका थिए। त्यसअघि महिनौँ उनले बिहारको गाउँगाउँ पुगेर मत मागेका थिए। तर, चुनावमा उनी नराम्ररी असफल भएका छन्।
हुन त प्रशान्त किशोर आफैँले यो चुनावमा या त १५० सिटभन्दा बढी जित्ने या १० सिटभन्दा कम जित्ने भविष्यवाणी गरेका थिए।
‘हामीले यति धेरै छलफल गरेका छौँ। जनताले बिहारको दुर्दशा अन्त्य गर्ने बाटो के हो भनेर बुझेका छन्। त्यसैले यदि अब उनीहरूले आफ्नो विश्वास बदले भने सबै समीकरण गलत साबित हुनेछन्। र, यदि यति कुरा बुझीकन उनीहरूले मत बदलेनन् भने हामीले १० भन्दा कम सिट जित्ने छौँ,’ उनले भनेका थिए।
नतिजालाई हेर्दा बिहारी मतदाताले उनको कुरा नसुनेको स्पष्ट हुन्छ।
एक सर्वेक्षणमा जन सुराजले झण्डै १० प्रतिशत मत जित्ने प्रक्षेपण गरिएको छ। त्यो भनेको कंग्रेसको भन्दा राम्रो मत हो। तर, एक सिट पनि नजिते त्यो मतको कुनै अर्थ हुने छैन।
यो नतिजाले प्रशान्त किशोरको बिहार बदल्ने सपनालाई ठूलो धक्का पुग्नेछ। सम्भवतः उनले आफ्नो बाटो पनि फेर्न सक्ने छन्। एजेन्सी
Shares

प्रतिक्रिया