अस्ट्रेलियाको न्यु साउथ वेल्सअन्तर्गत सिड्नीको बोन्डी बिच (समुद्र तट) मा गोली चल्दा १२ जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन्।
सिड्नीस्थित बीबीसी संवाददाता टिफनी टर्नबुलले न्यु साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सले मृत्यु हुनेको संख्या १२ पुगेको पुष्टि गरेको बताएका छन्।
अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले एक्समा पोस्ट गरेको छ, 'सार्वजनिक क्षेत्रमा दुई जनाले गरेको गोली प्रहारपछि आज बोन्डी बिचमा प्रहरी अपरेसन चलिरहेको छ।'
घटना अस्ट्रेलियाको पूर्वी दिवा समय अनुसार साँझ ६:०० बजे भएको हो।
प्रहरीले मृतकमध्ये एक जना संदिग्ध आक्रमणकारी भएको बताएको छ। साथै अर्का बन्दुकधारी पनि घाइते भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बीबीसी संवाददाता टेसा वोङका अनुसार, यो घटना 'बोन्डी बिच'को उत्तरी भागमा भिडभाड भएको क्षेत्रमा भएको हो।
उनी भन्छिन्, 'समुद्र तटपछाडिको घाँसे मैदाननजिकै हनुक्का कार्यक्रम भइरहेको थियो। त्यहाँ एउटा पैदल पुल थियो, जुन मानिसहरूले समुद्र तटमा पुग्न प्रयोग गर्थे।'
टेसा वोङका अनुसार गोली चल्नुभन्दा करिब एक घण्टाअघि मात्र उनले त्यो पुल पार गरेकी थिइन्।
उनी भन्छिन्, 'त्यहाँ कम्तीमा २०० जना थिए भने ठूलो आवाजमा संगीत बजिरहेको थियो। अनि विभिन्न गतिविधि भइरहेका थिए।'
Shares

प्रतिक्रिया