भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनको निवासबाटै अपहरण गर्नुअघि नै अमेरिकाले त्यसपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई संक्रमणकालीन सत्ताको बागडोर सुम्पिने तयारी गरेको खुलासा भएको छ।
फाइनान्सियल टाइम्सका अनुसार मदुरो अपदस्थ भएपछि रोड्रिगेजले संक्रमणकालीन सरकारको नेतृत्व सम्हाल्ने विषयमा दुई पक्षबीच कुरा भएको थियो। अमेरिकासँगको यो कुराकानीको नेतृत्व डेल्सीका दाजु होर्खेले गरेका थिए। जो भेनेजुएलाका सभामुख हुन्।
तर, त्यतिबेला मदुरोलाई अमेरिकाले सेना पठाएर अपहरण गर्ने नभई निर्वासनमा पठाउने गरी कुराकानी भएको टाइम्सको दाबी छ।
‘ट्रम्प प्रशासनले यो संक्रमणकालीन व्यवस्था डेल्सीलाई केन्द्रमा राखेर बनाउने सन्देश लामो समयदेखि दिइरहेको थियो,’ भेनेजुएलाका एक लगानीकर्ताले भनेका छन्।
मदुरो अपदस्थ भएसँगै रोड्रिगेजले सत्ता सम्हालेकी छन्। तर, उनका लागि यो काम निकै कठिन भएको विश्लेषण गरिएको छ। ट्रम्पले उनलाई धम्की दिँदै भने अनुसार नगरे दोस्रो हमला गर्ने बताएका छन्।
अर्कोतिर, मदुरोका समर्थकहरूलाई पनि उनले सन्तुष्ट पार्नुपर्ने हुन्छ। त्यसैका लागि सत्ता सम्हालेलगत्तै रोड्रिगेजले मन्त्रिपरिषद् बैठक राखेर मदुरोको पक्षमा अभिव्यक्ति दिइन्।
‘राष्ट्रपति भनेको एक जना मात्रै हुनुहुन्छ, उहाँको नाम निकोलस मदुरो हो,’ उनले भनिन्।
आइतबार भने उनले एक विज्ञप्ति जारी गरेर सहकार्यका एजेन्डामा छलफल गर्न अमेरिकालाई निम्त्याएकी छन्। साथै अमेरिकासँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम राख्ने दिशामा अघि बढ्नु आफ्नो प्राथमिकता भएको जनाएकी छन्।
उनको अघिल्लो अभिव्यक्ति घरेलु खपतका लागि मात्रै भएको अमेरिकी बुझाइ छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भनेका छन्, ‘उनीहरूले सार्वजनिक रुपमा के भन्छन् होइन, के गर्छन् भन्ने हेरेर हामी मूल्यांकन गर्छौं।’
रोड्रिगेजलाई व्यावहारिक राजनीतिकर्मी र कुशल आर्थिक व्यवस्थापकका रुपमा चिन्ने गरिन्छ। उनले अनेकौँ पटक विदेशी कम्पनीहरूसँग मिलेर काम गरेकी छन्।
‘अमेरिकाले के निर्क्यौल निकालेको छ भने प्राविधिक, राजनीतिक र भौगोलिक हिसाबले कसैले नतिजा दिन सक्छ भने त्यो डेल्सी र उनको टिमले नै दिन्छ,’ भेनेजुएलामा व्यावसायिक सम्बन्ध भएका अर्का व्यक्तिले भनेका छन्।
रोड्रिगेज गुरिल्ला पिताकी छोरी हुन्। उनको बुवाको अमेरिका समर्थित सरकारले यातना दिई हत्या गरेको थियो। ५६ वर्षीया रोड्रिगेजलाई चलाख राजनीतिज्ञका रुपमा चिन्ने गरिन्छ।
‘मैले पहिलो पटक उनलाई भेट्दा हामीले उनको बरन्डामा गफ गर्दै दुई घण्टा बितायौँ। सुरक्षा निकायको हातबाट आफ्नो बुबाको मृत्यु कसरी भयो भनेर उनले मलाई विस्तारमा बताइन्। जेलको कोठामा टियर ग्यासले निसासिएर उनको मृत्यु भएको थियो,’ एक पूर्व अमेरिकी अधिकारीले भनेका छन्।
ह्युगो चाभेज हुन्जेल उनी महत्त्वहीन थिइन्। तर, २०१३ मा मदुरो सत्तामा आएपछि रोड्रिगेज दाजुबहिनीको उन्नति तीव्र गतिमा भयो। होर्खे मनोचिकित्सक थिए, उनी सभामुख र मदुरोको प्रमुख राजनीतिक सल्लाहकार भए। दुवै दाजुबहिनी अंग्रेजी बोल्छन्, डेल्सी फ्रेन्च पनि बोल्छिन्।
यी दाजुबहिनी मदुरोको सत्ताको खम्बा भने। रोड्रिगेज २०१४ मा विदेशमन्त्री बनिन् भने २०२० मा अर्थ र ऊर्जामन्त्री। भेनेजुएलाको प्रमुख उद्योग तेल उनकै जिम्मामा थियो।
‘उनी अत्यन्त योग्य छिन्, तेलको व्यवसाय राम्ररी बुझ्छिन् र लगानीकर्ताहरूलाई आवश्यक पर्ने लचकता पनि उनीसँग छ। उनी विचारधाराबाट उति प्रेरित हुन्नन्,’ भेनेजुएलामा सञ्चालित अमेरिकी कम्पनी सेभोर्नका पूर्वका कर्मचारी अली मोसिरी भन्छन्, ‘उनले संक्रमणकालीन प्रशासनको नेतृत्व राम्ररी गर्न सक्छिन् तर उनलाई अमेरिकाको सहयोग चाहिन्छ, खासगरी नाकाबन्दीबाट राहत।’
रोड्रिगेजलाई समर्थन गर्न ट्रम्पले भेनेजुएलाको विपक्षी नेताहरूलाई किनारा लगाएका छन्। ट्रम्पले उनीहरूसँग आवश्यक लोकप्रियता र समर्थन नरहेको बताएका छन्।
तर, रोड्रिगेज दाजुबहिनीलाई सेनाको समर्थन ज्यादा नहुने विश्लेषकहरूको भनाइ छ।
‘मलाई लाग्छ, डेल्सी ट्रम्पको इसारामा नाच्नेछिन्। त्यसपछि उनको पिठ्युँमा रक्षामन्त्री र सेनाप्रमुखले छुरी रोप्नेछन्। अनि ट्रम्पलाई बल्ल थाहा हुनेछ,’ अमेरिकीहरूसँग निकट विपक्षी खेमाकी भेनेसा न्युम्यान भन्छिन्। एजेन्सी
Shares

प्रतिक्रिया