ग्लोबल


अर्काको पुरस्कारमा ट्रम्पले आँखा लगाएपछि नोबेल कमिटीले भन्यो : त्यो मिल्दैन

अर्काको पुरस्कारमा ट्रम्पले आँखा लगाएपछि नोबेल कमिटीले भन्यो : त्यो मिल्दैन

नेपालखबर
पुस २७, २०८२ आइतबार १९:५०,

नोबेल शान्ति पुरस्कार वितरण गर्ने कमिटीले एक जनाले पाएको पुरस्कार अर्कोलाई हस्तान्तरण गर्न नमिल्ने प्रस्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मरिया कोरिना मचादोले पाएको पुरस्कार आफूले लिन रुचि देखाएका थिए।

गत वर्षको नोबेल शान्ति पुरस्कार हात पार्न ट्रम्पले खुबै रहर देखाएका थिए। उनले कयौँ मुलुकका नेताहरूलाई भेटेर आफूलाई सो पुरस्कारका लागि मनोनीत गर्न पनि आग्रह गरेका थिए। सार्वजनिक रुपमै आफू त्यसको हकदार भएको टिप्पणी अनेक पटक गरेका थिए।

तर, नोबेल कमिटीले मचादोलाई पुरस्कृत गर्‍यो। 

आफूले आठ वटा युद्ध रोक्दा पनि पुरस्कार नपाएको भन्दै उनले असन्तुष्टि जनाएका थिए। पुरस्कार जितेपछि मचादोले हताहतार ट्रम्पलाई समर्पित गरेकी थिइन्। भेनेजुएलामा विपक्षीहरूलाई ट्रम्पले निर्णायक समर्थन गरेको उनको भनाइ थियो।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेपछि गत साता मचादोले एक अन्तर्वार्तामा भेनेजुएलाका जनताको तर्फबाट आफूले पुरस्कार ट्रम्पलाई दिन चाहेको बताइन्।

हालै ट्रम्पलाई पत्रकारहरूले सो पुरस्कार मचादोबाट लिनुहुन्छ त भनेर सोधेका थिए।

ट्रम्पले त्यो आफ्नो लागि ठूलो सम्मानको कुरा हुने बताएका थिए।

त्यसपछि नोबेल कमिटी बोलेको हो। कमिटीले त्यस्तो पुरस्कार हस्तान्तरण असम्भव रहेको बताएको छ।

‘तथ्यहरू स्पष्ट र स्थापित छन्,’ कमिटीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एक पटक नोबेल पुरस्कार घोषणा गरिसकेपछि यसलाई फिर्ता गर्न, बाँड्न वा अरुलाई हस्तान्तरण गर्न मिल्दैन। त्यो निर्णय नै अन्तिम हुनेछ र कहिल्यै पनि बदल्न मिल्दैन।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad