पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा एक हिन्दु व्यापारीसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
खुजदारका प्रहरी अधिकारी वहाब बलोचका अनुसार खुजदारको नाल क्षेत्रमा हमला भएको हो।
उनका अनुसार मृतक र घाइतेहरू खुजदार जिल्लाको वाध क्षेत्रका बासिन्दा हुन्। उनीहरू पिकनिकका लागि नालको हरानबो बाँध क्षेत्रमा गएका थिए।
उनले भने, ‘अज्ञात हतियारधारीहरूले उनीहरूमाथि गोली चलाए। जसमा तीन जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्।’
प्रहरी अधिकारीका अनुसार मृतकहरूमा मल्लु माल नामका एक हिन्दु व्यापारी पनि छन्। अन्य दुई जनामा अब्दुल रसिद र अब्दुल सबुर नामका व्यक्ति छन्।
वहाब बलोचले घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको बताए।
उनले भने, ‘आक्रमणको कारणबारे अनुसन्धान सुरु गरिएको छ।’
पीडितका आफन्त र क्षेत्रका अन्य बासिन्दाले आक्रमणको विरोधमा क्वेटा र कराँचीबिचको राजमार्ग अवरुद्ध गरेका छन्।
Shares

प्रतिक्रिया