अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणको जवाफमा इरानले अनेकौँ खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निसाना बनाएको छ। जसका कारण यो युद्धले क्षेत्रीय रूप लिएको छ। र, युद्ध लम्बिन सक्ने भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।
फार्स न्युज एजेन्सीका अनुसार इरानले बहराइन, कुवेत, कतार, यूएई, साउदी अरबलगायतका मुलुकमा क्षेप्यास्त्र प्रहार गरेको हो। यी सबै मुलुकमा अमेरिकी सैन्य अखडाहरू छन्।
इरानको सेनाले मध्यपूर्वमा रहेका सबै इजरायली र अमेरिकी ठेगानाहरूमा इरानी क्षेप्यास्त्रले शक्तिशाली झड्का दिएको जनाएको छ।
‘जबसम्म शत्रु निर्णायक रूपले पराजित हुँदैन, तबसम्म यो कारबाही अथक रूपमा जारी रहनेछ,’ इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले भनेको छ।
यूएईको राजधानी आबुधाबीमा एक जनाको ज्यान गएको बताइएको छ।
बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय छ। सो स्थानलाई इरानले निसाना बनाएको बहराइनले जनाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डको मुख्यालय रहेको कुवेतमा पनि विस्फोटको आवाज सुनिएको छ।
कतारको रक्षा मन्त्रालयले अनेकौँ हवाइ हमलालाई असफल बनाइएको बताएको छ।
यो युद्धको प्रभावस्वरूप विश्वभरका एयरलाइन्सहरूले सो क्षेत्रको उडान रद्द गरेका छन्।
खाडी मुलुकहरु विश्वकै आर्थिक गतिविधि, वित्तीय बजार, लगानीको क्षेत्र र मानिसहरुको आवतजावतको केन्द्रका रुपमा परिचित छ। यहाँ नेपाल सहित अन्य मुलुकका करोडौँ कामदार कार्यरत छन्। इरानको यो कदमले भूराजनीतिक रुपमा ठूलो प्रभाव निम्त्याउने विश्लेषण गरिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया