ग्लोबल


यूएईमा युद्धको त्रास– विमानस्थल र बन्दरगाह लक्षित आक्रमणले त्रसित छन् श्रमिक

यूएईकी मन्त्रीले भनिन् : पूर्वाधार र तेल ट्याङ्करमाथि प्रहार गरेर इरानले त्रास फैलायो
यूएईमा युद्धको त्रास– विमानस्थल र बन्दरगाह लक्षित आक्रमणले त्रसित छन् श्रमिक

रीम अल हाशिमी खाडी देशको राजनीतिमा सुपरिचित व्यक्तित्व र संयुक्त अरब इमिरेट्सकी वरिष्ठ मन्त्री हुन्


नेपालखबर
चैत १, २०८२ आइतबार १७:५२, काठमाडौँ

इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच बढ्दो सैन्य तनाव र इरानले व्यावसायिक जहाजहरूको मुख्य मार्ग 'स्ट्रेट अफ हर्मोज' ठप्प पारेपछि खाडी क्षेत्रमा कार्यरत लाखौँ नेपाली, भारतीय र बंगलादेशीसहितका देशका श्रमिकहरूको भविष्य संकटमा परेको छ। इरानले छिमेकी राष्ट्रका नागरिक पूर्वाधार र अमेरिकी सैन्य आधार इलाकाहरूलाई निशाना बनाएपछि मध्यपूर्वको सुरक्षा अवस्था गम्भीर मोडमा पुगेको हो।

विशेष गरी यूएईमा रहेका तेल ट्याङ्कर, विमानस्थल र बन्दरगाहहरू इरानको निशानामा परेपछि त्यहाँ कार्यरत दक्षिण एसियाली श्रमिकहरूमा त्रास फैलिएको छ। इरानले हालै यूएईका पोर्ट र जेट्टीहरू खाली गर्न दिएको चेतावनीले तल्लो तहमा काम गर्ने मजदुरहरू प्रत्यक्ष जोखिममा परेका छन्।

यसै सन्दर्भमा यूएईकी अन्तर्राष्ट्रिय सहयोग मन्त्री रीम अल हाशिमीले इरानको कदमलाई 'तर्कहीन' र 'अमर्यादित' भन्दै कडा आलोचना गरेकी छिन्। उनले अष्ट्रेलियाको एबीसी न्यूजलाई अन्तर्वार्ता दिँदै इरानले युद्ध रोक्न चाहने मुलुकमाथि नै प्रहार गरेको बताइन्।

मन्त्री हाशिमीले भनेकी छिन्, 'यो साँच्चै अभूतपूर्व र म भन्छु, एक प्रकारको असन्तुलित व्यवहार हो। युद्ध कहिल्यै सुरु नहोस् र तनाव कम होस् भनी वकालत गर्नेहरूकै विरुद्ध इरान यसरी जाइलाग्नु हाम्रा लागि निकै आश्चर्यजनक विषय बनेको छ।'

मन्त्री हाशिमीले इरानले सैन्य आधार इलाका मात्र नभई नागरिक पूर्वाधारमा समेत आक्रमण गरिरहेको उल्लेख गरेकी छिन्। 'इरानले वास्तवमा नागरिक पूर्वाधारहरूलाई पनि निशाना बनाइरहेको छ, चाहे त्यो विमानस्थल होस् वा तेल ट्याङ्करहरू। इरानी रिभुलुसनरी गार्ड्सले बजारमा त्रास फैलाउन र खाडी मुलुकको मजबुत अर्थतन्त्र, विशेष गरी यूएईको अर्थतन्त्रलाई अस्थिर बनाउन यसलाई अस्त्रको रूपमा प्रयोग गरिरहेको छ।'

नेपाली श्रमिकमा कस्तो पर्ला असर?

यूएईमा मात्रै करिब ४ लाखभन्दा बढी नेपाली श्रमिकहरू निर्माण, सेवा र सुरक्षा क्षेत्रमा कार्यरत छन्। इरानले तेल निर्यात गर्ने मुख्य मार्ग 'स्ट्रेट अफ हर्मोज' बन्द गरेपछि विश्वभर इन्धनको मूल्य वृद्धि हुने निश्चित छ। यसले गर्दा यूएईको मुख्य आर्थिक मेरुदण्ड मानिने पर्यटन, रियल स्टेट र उड्डयन क्षेत्रमा मन्दी आउने संकेत देखिएको छ।

पर्यटन र उड्डयन क्षेत्र प्रभावित हुँदा होटल र विमानस्थलमा कार्यरत नेपाली, भारतीय र बंगलादेशी श्रमिकहरूको रोजगारी गुम्ने खतरा बढेको छ। इरानले विमानस्थल र बन्दरगाह नजिकका बस्तीहरू खाली गर्न चेतावनी दिएकाले त्यहाँका क्याम्पहरूमा बस्ने नेपालीहरूको सुरक्षामा प्रश्न उठेको छ। यदि परिस्थिति नराम्रो भएमा र श्रमिकहरू स्वदेश फर्किनुपर्ने अवस्था आएमा अर्थतन्त्रमा प्राप्त हुने रेमिट्यान्समा ठूलो गिरावट आउने देखिन्छ।

यस तनावका बीच यूएईले अमेरिकासँगको आफ्नो रक्षा साझेदारीलाई अझ मजबुत बनाउने र आफ्नो भूमिमा रहेका अमेरिकी आधार इलाकाहरू नहटाउने प्रस्ट पारेको छ। तर, बढ्दो महँगी र युद्धको त्रासले खाडीलाई कर्मथलो बनाएका दक्षिण एसियाली श्रमिकहरूका लागि भने आगामी दिन चुनौतीपूर्ण हुनेछ।

नेपाल सरकारका तथ्याङ्कले देखाएअनुसार हाल करिब १९ लाख नेपाली श्रमिकहरू खाडी क्षेत्रका विभिन्न मुलुकमा कार्यरत छन्। वैदेशिक रोजगारीका लागि वार्षिक रूपमा देश छोड्ने झण्डै ७ लाख नेपालीमध्ये झण्डै ६५ प्रतिशत (करिब ४ लाख ५० हजार) खाडी मुलुक जाने गरेका छन्।

यो पनि: बाबुको पदचाप पछ्याउँदै सुरक्षा गार्ड बनेका दिवस, जसलाई इरान युद्धले निल्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad