इरानले होर्मुज स्ट्रेटमा अमेरिकाले लगाएको नाकाबन्दी नहटाए यो मार्ग नै बन्द गराइने चेतावनी दिएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले बन्दरगाहमा नाकाबन्दी गरिनु ‘गलत’ र ‘अविवेकी’ निर्णय भनेका छन्।
इरानको सरकारी टीभीसँग कुरा गर्दै गालिबाफले भनेका छन्, ‘मैले पहिले नै भनिसकेको छु- यदि यो नाकाबन्दी हटाइएन भने होर्मुज स्ट्रेट मार्गमा आवतजावत नै निश्चित रूपमा बन्द गराइनेछ।’

आफ्नो भिडिओ सन्देशमा गालिबाफले होर्मुज स्ट्रेट इरानको नियन्त्रणमा रहेको दाबी गरेका छन्।
उनले अमेरिकाले होर्मुज स्ट्रेटबाट खानी हटाउने प्रयास गरेपछि इरानले कडा विरोध गरेको पनि उल्लेख गरेका छन्।
गालिबाफले भनेका छन्, ‘हामीले यसलाई युद्धविरामको उल्लंघन मानेका थियौँ र स्पष्ट रूपमा भनेका थियौँ- यदि त्यसो गरियो भने हामी आक्रमण गर्नेछौँ।’
गालिबाफले हालै पाकिस्तानको इस्लामाबादमा अमेरिकासँग भएको वार्तामा इरानको नेतृत्व गरेका थिए।
स्ट्रेट अफ होर्मुज : के हो र कहाँ छ?
अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।
अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।
Shares

प्रतिक्रिया