ग्लोबल


रात्रिभोजमा सीले भने : चीनको महान् कायाकल्प र ‘मेक अमेरिका ग्रेट अगेन’ सँगसँगै अघि बढ्न सक्छ

सेम्टेम्बर २४ मा सीलाई ह्वाइट हाउसमा ट्रम्पको निम्ता
रात्रिभोजमा सीले भने : चीनको महान् कायाकल्प र ‘मेक अमेरिका ग्रेट अगेन’ सँगसँगै अघि बढ्न सक्छ

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १६:४६,

सी चिनफिङले डोनाल्ड ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा भाषण दिँदै चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने बताएका छन्। 

‘चीन र अमेरिका दुवै देशका जनता महान् छन्। चिनियाँ राष्ट्रको महान कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्छन्,’ उनले भने।

महान् कायाकल्प चिनियाँ कम्युनिस्ट पार्टीको नारा हो भने मागा ट्रम्पको।

‘एकअर्कालाई सफल पार्न र सम्पूर्ण विश्वको कल्याण गर्न हामीले एकअर्कालाई सहयोग गर्न सक्छौँ,’ सीले थपे, ‘नयाँ परिस्थितिमा राष्ट्रपति ट्रम्प र म हाम्रा दुई देश र अन्तर्राष्ट्रिय समुदायको अपेक्षाबारे पूर्ण रुपमा सचेत छौँ।’

‘आज राष्ट्रपति ट्रम्प र मैले चीन–अमेरिका सम्बन्ध र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा गहन कुराकानी गरेका छौँ,’ उनले भने, ‘हामी दुवैलाई के विश्वास छ भने चीन–अमेरिका सम्बन्ध संसारकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो। हामीले यसलाई सफल बनाउनै पर्छ। यो सम्बन्धलाई गडबड हुन दिनु हुन्न। सहकार्यबाट दुवैलाई फाइदा हुन्छ, टकरावबाट दुवैलाई घाटा। हाम्रा दुई मुलुक प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।’

विश्व परिवर्तन हुँदै गएको र अशान्त गएको बताउँदै उनले दुवै पक्षले ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने पनि बताए।

सीले ‘चिनियाँ र अमेरिकी जनताको समृद्धि र खुसी’, ‘चीन–अमेरिका सम्बन्धको उज्वल भविष्य’ र ‘राष्ट्रपति ट्रम्प र उपस्थित सबैको स्वास्थ्य’का लागि टोस्ट गरे।

ट्रम्पले भव्य स्वागतका प्रशंसा गरे। ‘यस्तो सानदार स्वागत पहिले कहिल्यै भएको थिएन’ उनले भने। 

दुई जनाबीच सकारात्मक र फलदायी कुराकानी भएको उनको भनाइ थियो।

‘आजको साँझ मित्रहरूबीच कुराकानी गर्ने अर्को एउटा मौका हो। आज हामीले जुन विषयमा कुराकानी गर्‍यौँ, तीमध्ये केही अमेरिका र चीनका लागि फाइदाजनक छन्। तपाईंको साथमा हुनु मेरो लागि निकै ठूलो सम्मानको कुरा हो।’ 

उनले दुई देशबीचको सम्बन्ध विशेष रहेको उल्लेख गर्दै भने, ‘हामी दुई एकसाथ हुँदा संसार खास बन्न पुग्छ।’

ट्रम्पले सी र उनकी पत्नी पेङलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा निम्त्याए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad