ग्लोबल


सी र पुटिनले एक स्वरले भने : ट्रम्पको ‘गोल्डेन डोम’ हतियारले स्थिरता खतरामा पार्छ

सी र पुटिनले एक स्वरले भने : ट्रम्पको ‘गोल्डेन डोम’ हतियारले स्थिरता खतरामा पार्छ

नेपालखबर
जेठ ६, २०८३ बुधबार १७:२६,

२५ औँ पटक चीन भ्रमणमा पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङबीचको द्विपक्षीय वार्तापछि दुई देशले २० भन्दा बढी सम्झौतामा हस्ताक्षर गरेका छन्। उनीहरूबीच व्यापार, प्रविधि सहकार्य, ऊर्जालगायत विषयमा सम्झौता भएको छ। 

भेटपछि सीले विश्वमा ‘जंगलको कानुन’ फर्किन सक्ने चेतावनी दिए। 

‘अन्तर्राष्ट्रिय परिस्थितिमा एकअर्कासँग गाँसिएका उथलपुथल र रुपान्तरण देखिएको छ। एकपक्षीय प्रभुत्ववादी पक्षहरूले अन्धाधुन्ध कदम चालिरहेका छन्,’ सीले अमेरिकालाई लक्षित गर्दै भने।

रुससँगको सम्बन्ध भने भद्रगोलभित्रको शान्ति भएको उनको भनाइ थियो।

भेटपछि दुई नेताहरूले संयुक्त वक्तव्य पनि जारी गरेका छन्। जसमा बहुपक्षीय विश्वको कुरा उठाइएको छ। वक्तव्यमा डोनाल्ड ट्रम्पले बनाउन खोजेको ‘गोल्डेन डोम’ परियोजनाको आलोचना गरिएको छ।

गोल्डेन डोम इजरायली क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आइरन डोमबाट प्रभावित भएर राखिएको नाम हो। यसले दुस्मनको ब्यालिस्टिक, हाइपरसोनिक र क्रुज क्षेप्यास्त्र पत्ता लगाएर नष्ट गर्नेछ। जसलाई सक्षम बनाउन अन्तरिक्षमा हजारौँ स्याटलाइट राख्नुपर्ने हुन्छ। यसले रणनीतिक स्थिरता खतरामा पार्ने सी र पुटिनले बताएका छन्।

‘दुवै पक्षलाई के विश्वास छ भने अमेरिकी गोल्डेन डोम परियोजनाले रणनीतिक स्थिरतामा खतरा निम्त्याउँछ। यस्ता योजनाले रणनीतिक स्थिरता कामय राख्ने मुख्य सिद्धान्तलाई अस्वीकार गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

‘यसले अन्तरिक्षमा द्वन्द्वको जोखिम ह्वात्तै बढाउँछ र अन्तरिक्षको सैन्यकरणमा योगदान दिन्छ,’ उनीहरूले भनृका छन्।

सीले इरानमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध छिटो अन्त्य भए त्यसले ऊर्जा आपूर्ति र व्यापारमा गर्ने क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।

पुटिनले ४० पटक भेटेका सीसँगको व्यक्तिगत सम्बन्धलाई जोड दिएका छन्। उनले चिनियाँ उखान उधृत गर्दै सीसँग ‘अलग भएर बसेको एक दिन पनि तीन शरदजस्तो महसुस हुने’ बताए।

यद्यपि, संयुक्त वक्तव्यमा दुई देशबीच हुने अपेक्षा गरिएको अर्को ग्यास पाइपलाइन सम्झौताबारे केही उल्लेख छैन।

पुटिनको भ्रमण २४ घण्टाको मात्रै भए पनि चीनले स्वागतमा कुनै कमी गरेन। गत साता ट्रम्पको स्वागतमा जस्तै रातो कार्पेट र स्वागत समारोह आयोजना गरिएको थियो। पुटिनलाई स्वागत गर्न विदेशमन्त्री वाङ यी विमानको सिँढीसम्म पुगेका थिए।

नोभेम्बरमा चीनले सेन्जेनमा आयोजना गर्ने एपेक शिखर बैठकमा पनि पुटिन सहभागी हुनेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad