अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मदुरोलाई सत्ताबाट हटाउन अचानक गरिएको सैन्य कारबाहीपछि भेनेजुएलाले ‘आफ्नो देशलाई ५ करोड ब्यारेलसम्म तेल दिने’ दाबी गरेका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि भेनेजुएलाको अन्तरिम प्रशासनले अमेरिकालाई यसअघि प्रतिबन्धमा रहेको ३० देखि ५० मिलियन ब्यारेल उच्च गुणस्तरको तेल उपलब्ध गराउनेछ।’
उनले अगाडि लेखेका छन्, ‘यो तेल बजार मूल्यमा बेचिनेछ र यसबाट प्राप्त हुने आम्दानी अमेरिकाको राष्ट्रपतिका रूपमा मेरो नियन्त्रणमा हुनेछ ताकि यो भेनेजुएला र अमेरिकाका जनताको सर्वोत्तम हितमा प्रयोग होस्।’
ट्रम्पको उक्त टिप्पणी भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिका रूपमा शपथ लिएको एक दिनपछि आएको हो।
यसअघि सोमबार ट्रम्पले एनबीसी न्युजसँग भनेका छन्, ‘तेल उत्पादक भेनेजुएला अमेरिकाका लागि राम्रो छ किनभने यसले तेलको मूल्य तल रहन्छ।’
सीबीएसको रिपोर्टअनुसार, प्रमुख अमेरिकी पेट्रोलियम कम्पनीहरूका प्रतिनिधिहरूले यस हप्ता ट्रम्प प्रशासनसँग भेट्ने योजना बनाइरहेका छन्।
यद्यपि यसअघि केही विश्लेषकले ट्रम्पको योजनाले विश्वव्यापी तेल आपूर्ति र मूल्यमा कुनै महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा शंका व्यक्त गरेको बीबीसीले जनाएको छ।
उनीहरूले भनेका छन्, ‘कम्पनीहरू पहिले भेनेजुएलामा स्थिर सरकार छ भन्नेमा विश्वस्त हुन चाहन्छन् र लगानी गरिए पनि परिणाम दिन वर्षौं लाग्न सक्छ भन्ने ठान्छन्।’
Shares

प्रतिक्रिया