भारतीय राज्य तमिलनाडुमा सरकार बनाउन ११८ सिट चाहिन्छ, तर हालै भएको विधानसभा चुनावमा कुनै पनि दलले यति सिट जित्न सकेनन्। यद्यपि तमिलगा भेट्री कजगम (टीभीके) सबैभन्दा ठुलो दल बनेको छ। जुन दलको नेतृत्वकर्ता हुन्- अभिनेता थालापति विजय।
त्यसैले तमिलनाडुमा उनकै पार्टी टीभीकेले सरकार गठन गर्ने सम्भावना छ। टीभीकेले जम्मा १०८ सिट जितेको छ। अब उसलाई सरकार गठनका लागि बहुमत पुर्याउन केवल १० सिट आवश्यक छ।
यसैबिच भारतीय कंग्रेसलगायत केही दलले टीभीकै नेतृत्वमा सरकार गठनका लागि समर्थन दिने संकेत गरेका छन्। यद्यपि सम्बन्धित दलले अहिलेसम्म यसको आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।
कानुनी विज्ञहरूका अनुसार सरकार बनाउन आवश्यक संख्या विधायक जुटाउन असफल भए पनि विजयले मुख्यमन्त्रीको पद ग्रहण गर्न सक्छन्। तर त्यसको १५ दिनभित्र विधानसभामा उनले विश्वासको मत लिनुपर्नेछ।
भारतीय सर्वोच्च अदालतका वकिल कृष्णमूर्तिका अनुसार यही मे १० सम्ममा तमिलनाडुमा नयाँ सरकार बनाउनु अनिवार्य छ।
बीबीसी हिन्दीसँग कृष्णमूर्तिले भनेका छन्, ‘वर्तमान तमिलनाडु विधानसभाको कार्यकाल मे १० मा समाप्त हुन्छ। त्यतिन्जेल नयाँ सरकार गठन हुनुपर्छ। यसका लागि आवश्यक संख्यामा विधायकले बहुमत प्रमाणित गर्न राज्यपाललाई समर्थनपत्र बुझाउनुपर्छ।’
बहुमत जुटाउने समय निकै कम भएकाले अर्को संवैधानिक विकल्प प्रयोग गर्न सकिने उनको भनाइ छ।
उनका अनुसार, तोकिएको अवधिभित्र बहुमत जुटाउन नसकिए विजय एक्लैले मुख्यमन्त्रीका रूपमा शपथ खान सक्नेछन् र त्यसपछि १५ दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

ककसले गर्लान् समर्थन?
यद्यपि वरिष्ठ पत्रकार कुपेन्द्रन विजयले बहुमत विधायकको समर्थन लिएर राज्यपाललाई भेट्ने र सरकार गठन दाबी गर्ने सम्भावना धेरै रहेको बताउँछन्।
उनी भन्छन्, ‘गैर-डीएमके र एआईएडीएमके दलहरूसँग ११ भन्दा बढी विधायक छन् र उनीहरूले टीभीकेलाई समर्थन गर्न सक्छन्। यसमा कंग्रेसका ५, भीसीकेका २, कम्युनिस्ट दलहरूका ४ र डीएमकेका १ विधायक छन्।’
वरिष्ठ पत्रकार शिवप्रियनका अनुसार डीएमके गठबन्धनका साझेदारहरूका अलावा पीएमके र एएमएमकेजस्ता दलहरूले पनि विजयसँग गठबन्धन गर्न सक्छन्।
उनी भन्छन्, ‘डीएमके, एआईएडीएमके र भाजपाजस्ता दलले समर्थनका लागि प्रस्ताव गरे पनि विजयले यसलाई स्वीकार गर्ने सम्भावना छैन।’
वरिष्ठ पत्रकार कुपेन्द्रनका अनुसार विजयले पहिले नै सार्वजनिक रूपमा गठबन्धन सरकार घोषणा गरिसकेका छन्। कंग्रेसले यो मागलाई निरन्तर जोड दिइरहेको छ।
उनले भने, ‘यदि विजयले भाजपाको विरोधका लागि आफू प्रतिबद्ध रहेको बताए भने इन्डियन युनियन मुस्लिम लिगका दुई विधायकले पनि टीभीकेलाई समर्थन गर्नेछन्। त्यसैले विजयले विश्वासको मत लिनुअघि नै औपचारिक रूपमा समर्थन पत्र बुझाउन र सरकार बनाउन सक्छन्। यो अर्को लोकसभा चुनावका लागि सम्भावित गठबन्धनको सुरुवात पनि हुन सक्छ।’
इन्डियन युनियन मुस्लिम लिगले सिँढी चिह्नमा चुनाव लडेको भए पनि उसले डीएमके गठनबन्धनमै रहने घोषणा गरेको छ।
दलहरूको स्थिति के छ?
तमिलनाडु कंग्रेस समितिका अध्यक्ष सेल्वापेरुन्धगाईले टीभीकेलाई समर्थन गर्ने निर्णय राहुल गान्धीले गर्ने बताएका छन्।
तमिलनाडु कंग्रेसले भनेको छ, ‘हामी धर्मनिरपेक्षताप्रति प्रतिबद्ध छौँ। हामी डीएमके गठबन्धनमा रहनेछौँ। हामीले विजयबाट कुनै निमन्त्रणा पाएका छैनौँ। हाम्रो त्यस्तो कुनै योजना छैन।’
यस्तै भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का राज्य सचिव शणमुगम र भारतीय कम्युनिस्ट पार्टीका राज्य सचिव वीरपाण्डियनले पनि यस्तै अडान व्यक्त गरेका छन्। उनीहरू र डीएमडीकेका राज्यसभा सांसद सुधीशले डीएमकेका अध्यक्ष स्टालिनसँग भेट गरेका छन्। यद्यपि कंग्रेस पार्टीका कोही पनि डीएमके कार्यालय गएनन्।
विरुधाचलमबाट चुनाव जितेकी डीएमडीकेकी नेता प्रेमलथाले पत्रकारहरूसँग भनिन्, ‘हामी धर्मनिरपेक्ष गठबन्धनमा छौँ। म विजयलाई सधैँ 'हाम्रो घरको केटा' भन्छु। उहाँलाई हाम्रो शुभकामना।’ बीबीसी हिन्दी
Shares

प्रतिक्रिया