बंगलादेशको विदेश मन्त्रालयले प्रतिबन्धित अवामी लिगले भारतमा गरिरहेका गतिविधिबारे विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा भारतीय भूमिमा अवामी लिगका गतिविधिले भारत-बंगलादेश मित्रता, बहुआयामिक सहयोग र दुई देशका जनताबीचको विश्वास र सम्मानलाई जोखिममा पार्ने चेतावनी दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिबन्धित राजनीतिक दल बंगलादेश अवामी लिगले दिल्ली र कोलकातामा कार्यालय खोलेको खबरप्रति बंगलादेश सरकारको ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि भारतीय भूमिमा बसोबास गर्ने बंगलादेशी नागरिकहरूले बंगलादेशविरुद्ध, विशेष गरी प्रतिबन्धित दलका नेता वा कार्यकर्ता- कुनै राजनीतिक गतिविधि गर्छन् र कार्यालय खोल्छन् भने यो बंगलादेशका जनता र सरकारको प्रत्यक्ष अपमान हो।’
बंगलादेशले यसविरुद्ध तत्काल कारबाही गर्न भारतलाई अपिल गरेको छ।
विज्ञप्तिमा बंगलादेश सरकारले भारत सरकारलाई कुनै पनि बंगलादेशी नागरिकलाई भारतीय भूमिबाट 'बंगलादेशविरोधी' गतिविधि गर्न नदिन तथा अवामी लिगका कुनै पनि राजनीतिक कार्यालय तुरुन्तै बन्द गर्न अनुरोध गरिएको छ।
अवामी लिग देश छाडेर भारत भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी हो।
गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलन चर्किएपछि हसिना सत्ता छाड्दै भाग्नुपरेको थियो। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्।
Shares

प्रतिक्रिया