ग्लोबल


२४ वर्षअघिको पुटिन–जर्ज बुस वार्ताबाट खुलासा: 'पाकिस्तानको आणविक हतियार विश्वका लागि खतरा'

२४ वर्षअघिको पुटिन–जर्ज बुस वार्ताबाट खुलासा: 'पाकिस्तानको आणविक हतियार विश्वका लागि खतरा'

पुटिन र बुसले २००१ र २००८ का बीच पाकिस्तानबाट आणविक खतराबारे दुईपटक वार्ता गरेका थिए।


नेपालखबर
पुस ११, २०८२ शुक्रबार १५:५७, काठमाडौँ

सन् २००१ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुससँगको पहिलो भेटमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाकिस्तानको आणविक हतियारबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए।

पुटिनले भनेका थिए, ‘पाकिस्तान मूलतः आणविक हतियार भएको सैन्य जुन्टा हो। यो लोकतान्त्रिक देश होइन।’

तर पनि पश्चिमी देशहरूले पाकिस्तानको आलोचना नगर्नु चिन्ताको विषय भएको पुटिनले बताएका थिए। उनले भनेका थिए, 'यो विषयमा खुला रूपमा छलफल गरिनुपर्छ।'

त्यतिबेला दुवै नेताले पाकिस्तानको आन्तरिक अवस्था, राजनीतिक अस्थिरता र आणविक कमान्ड प्रणालीबारे चिन्ता व्यक्त गरेका थिए। परिस्थिति बिग्रियो भने आणविक प्रविधि गलत हातमा पर्न सक्छ भन्ने डर उनीहरूलाई थियो।

यो कुरा २००१ देखि २००८ सम्म दुई देशबीच भएको कुराकानीको कागजातबाट प्रकाशमा आएको हो। यो दस्तावेज अमेरिकाको ‘नेसनल सिक्योरिटी आर्काइभ’ले सूचना स्वतन्त्रता ऐनअन्तर्गत जारी गरेको हो।

यो कुराकानी त्यस्तो समयमा भएको थियो, जतिबेला आतंकवाद र दक्षिण एसियाली सुरक्षासम्बन्धी विश्वव्यापी अवस्था निकै संवेदनशील थियो।

पुटिनलाई लागेको थियो, 'आणविक हतियारले सुसज्जित गैरलोकतान्त्रिक देशको अस्तित्वले विश्वव्यापी सुरक्षाका लागि खतरा निम्त्याउन सक्छ।'

कुराकानीमा पाकिस्तानको 'एक्यू खान नेटवर्क', इरान र उत्तर कोरियामा आणविक प्रविधि पुग्ने खतरा र पाकिस्तानको आणविक सुरक्षा प्रणालीबारे चिन्ता प्रकट गरिएको छ। 

२००१ देखि २००८ सम्म पाकिस्तानमा सैन्य शासक परवेज मुसर्रफले शासन गरेका थिए। ९/११ पछि अमेरिका र रुस दुवैले आतंकवादविरुद्धको लडाइँमा उसको सहयोग लिइरहेका थिए। तर पनि दुवै नेतालाई पाकिस्तानको आणविक नीति र नियन्त्रण प्रणालीमा विश्वास थिएन। 

यस क्रममा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज बुसले भनेका थिए, ‘रुस पश्चिमको हिस्सा हो, शत्रु होइन।’

दुई नेताले पारस्परिक सम्मान पनि व्यक्त गरेका थिए।

पछि बुसले भनेका थिए, 'मैले पुटिनलाई नजिकबाट बुझेँ र भरपर्दो पाएँ।'

इरान र उत्तर कोरियासम्म फैलिने डर

सेप्टेम्बर २००५ मा ह्वाइट हाउसमा भएको छलफल इरान र उत्तर कोरियामा आणविक प्रविधि पुग्ने विषयमा केन्द्रित थियो।

जहाँ पुटिनले पाकिस्तान इरानको आणविक गतिविधिमा संलग्न हुन सक्ने चिन्ता व्यक्त गरेका थिए। 

यस्तो थियो कुराकानी 

पुटिन : इरानका प्रयोगशालाहरूमा के भइरहेको छ र ती कहाँ छन् भन्ने कुरा स्पष्ट छैन तर, पाकिस्तानलाई उसको सहयोग जारी छ।

बुस : मैले यस विषयमा मुसर्रफसँग कुरा गरेको छु। मैले उनलाई भनेको छु- हामी इरान र उत्तर कोरियामा प्रविधि पुग्ने कुराले चिन्तित छौँ। उनले (मुसर्रफ) ए.क्यू. खान र उनका केही साथीलाई जेलमा हालेका छन्, नजरबन्दमा राखेका छन्। हामी जान्न चाहन्छौँ- उनीहरूले बयानमा के भने? मैले मुसर्रफलाई बारम्बार यो कुरा सम्झाइरहेको छु। कि उनले पूर्ण जानकारी पाइरहेका छैनन् कि हामीलाई सत्य कुरा सबै बताइरहेका छैनन्।

पुटिन : मेरो जानकारीअनुसार, इरानी सेन्ट्रीफ्युजमा पाकिस्तानी युरेनियम फेला परेको छ।

बुस : अँ, यो कुरा त्यही हो, जुन इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई बताएको थिएन। यो नियमको उल्लंघन हो।

पुटिन : यदि युरेनियम पाकिस्तानबाट आएको हो भने त मेरा लागि निकै चिन्ताजनक कुरा हो। 

बुस : यसले त हामीलाई पनि उत्तिकै चिन्तित बनाउँछ। 

पुटिन : हाम्रो हालतबारे पनि विचार गर्नुहोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad