राजनीति


चोरी भएका ६० ओटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

चोरी भएका ६० ओटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १६:५, काठमाडौँ

काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (शुक्रबार) ती सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ ओटा मोटरसाइकल र २६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरे। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित काँडाघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, टोखा,  याँबसपार्क, बालकुमारी, भाटभटेनी भक्तपुर, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, कीर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट,सोह्रखुट्टे, कपन,सुडाल र जरङ्खु  लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो। 

आज बुझाइएका ६० ओटा सहित १८१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए। 

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन्।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad