गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बीओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको जानकारी दिए।
गृहमन्त्री गुरुङले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गरिने बताए। उनले सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत बताए।
मन्त्री गुरुङले भने, ‘धेरै जस्तो सीमावर्ती नाकाहरुमा प्रहरी बस्नको लागि टहरा, जस्ता, भत्किनै लागेको बिल्डिङ, चुहिने छाना छ। अनि प्रहरीले रातभरी ड्युटि गर्नुपर्ने अवस्था छ। यस्तो समस्या प्रहरीले भोगिरहेका छन्। ती समस्याहरु समाधान गर्नको लागि हामीले बल्ल बजेट पाएका छौँ। अस्तिसम्म हामीले पुरानै बजेटले काम गरिरहेका थियौँ। विनियोजित बजेट कार्यान्वयन गर्ने चरणमा अहिले हामी पुगेका छौँ। त्यसकारण सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउनको लागि बोर्डर आउट पोस्ट (बिओपी)हरुमा पूर्वाधार निर्माण गर्ने योजनाहरु यसमा छ।’
उनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त गरे। उनले सीमापार अपराधिक गतिविधि नियन्त्रणको लागि खुला सीमा मुख्य चुनौतीको रुपमा रहेको बताए।
उनले भने, ‘सीमा अवलोकनको क्रममा हामीले धेरै ठाउँहरुमा ओपन बोर्डरको कारण सीमावार अपराधिक क्रियाकलाप भइरहेको देख्यौँ। यता छेक्दा उता भाग्ने उता छेक्दा यता भाग्ने अवस्था छ। त्यसको लागि समेत उपलब्ध स्रोत र साधनको सदुपयोग गरेर काम गर्नको लागि निर्देशन दिएको छु। यस्ता क्षेत्रमा ड्रोनमार्फत निगरानी गर्न बजेट विनियोजन गरेका छौँ, सीमा नाकामा सीसीटिभीको जडान गरेर फेस रिकोनाइज गर्नेगरी प्रविधिमार्फत सीमाको निगरानी गर्ने कार्यमा लागिरहेका छौँ।’
Shares

प्रतिक्रिया