नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन्।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समिकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको बताए।
‘दिनदिनैका सानातिना सुधारका कामहरू सरकारको समीकरण बनाउने, त्यही आधारमा प्रधानमन्त्री र बनाउने तथा पालिका र प्रदेशमा निर्वाचित हुने कुरालाई रणनीति बनाउन पुग्यौँ,’ प्रचण्डले भने, ‘मैले संश्लेषित रुपमा भन्नुपर्दा हामी कम्युनिस्टहरूको गल्ती भयो।’
विदेशी शक्तिहरूले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमै थाहा नपाउँदा मुलुकको भूराजनीतिक संकटतर्फ उन्मुख भएको प्रचण्डको टिप्पणी थियो।
‘हामीले विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरालाई ध्यान दिएनौँ। हाम्रा बैरीहरू नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरू भने रणनीति तिर लागेछन्,’ उनले थपे, ‘बैरीहरू नेपालमा कम्युनिस्टहरूलाई ठिक पार्नुपर्छ भनेर २० वर्षदेखि योजना बनाएर नागरिकलाई भ्रममा पार्ने कार्य गरेछन्।’
उनले चनाखो भएर काम गर्न नसकिएको स्वीकारे। जनताबीच गएर आन्दोलित भइराख्नुपर्नेमा चुकेको उनको भनाइ थियो।
‘नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिरहनुपर्ने, शक्ति आर्जन गरिरहनुपर्ने जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी कँही न कँही बिमुख हुन पुग्यौँ। त्यहीँ निर हाम्रो कमजोरी भयो,’ उनले भने।
उनले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ जनतालाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क गरे। वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको उनको भनाइ थियो।
‘चिनियाँ क्रान्तिको इतिहासमा साम्राज्यवादीहरूले चिनियाँ जनतालाई के गरी लुट्ने? त्यहाँको साधन स्रोत कसरी कब्जा गर्ने भनेर जनतालाई अफिमको लत बसाइदिए। आम रुपमा जनतालाई अफिम खुवाएर लठ्ठ परेपछि के को राष्ट्रिय, स्वाधीनता? त्यसरी नै साम्राज्यवादीले मजाले चीनको साधन स्रोत आफ्नो कब्जामा पारेका थिए,’ प्रचण्डले भने, ‘यो पटक हाम्रो त्यो गल्तीका कारण हामीले निरन्तर स्कुलिङ गर्न नसक्दा नयाँ पुस्तालाई हाम्रो त्यो कमजोरी माथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन्, मैले जनताको अपमान गर्न खोजेको होइन।’
सामाजिक सञ्जालमा ‘एल्गोरिदम म्यानिपुलेसन’ मार्फत नयाँ पुस्तालाई प्रभावित बनाउने कार्य भएको भन्दै त्यसको प्रतिवादका लागि कम्युनिस्ट शक्तिहरूले वैचारिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
‘कस्तो अफिम सोसियल मिडियाबाट अल्गोरिदम म्यानिपुलेसनको। अफिममै लठ्ठ पारिदिए सबैलाई अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ। अर्को कुनै उपाय छैन,’ उनले भने।
उनले वाम एकताको दिगोपनको सुनिश्चितता नगरिकन वाम एकता सम्भव नभएको पनि बताए।
Shares

प्रतिक्रिया