म्यान्मारमा निर्वाचित सरकार ढालेर सेनाले सत्ता कब्जा गरेको ४ वर्षपछि पहिलोपटक चुनाव सुरु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निर्वाचनअन्तर्गत आइतबार (डिसेम्बर २८) पहिलो चरणको मतदान सम्पन्न भएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ६ बजे सुरु मतदान अपराह्न ४ बजेसम्म सकिएको याङ्गुनको क्याउकटाडा सहरस्थित मतदान केन्द्रका एक निर्वाचन अधिकारीले बताए।
पिथु ह्लुट्टाव (तल्लो सदन), अम्योथा ह्लुट्टाव (माथिल्लो सदन) र राज्य र क्षेत्र ह्लुट्टाव (राज्य र क्षेत्रीय संसद्हरू) का लागि तीन चरणमा मतदान हुनेछ।
म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना दलका अनुसार पहिलो चरणको मतदान अनुगमन तथा निरीक्षणका लागि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण टोलीका १३९ सदस्य तथा कूटनीतिक समुदायका प्रतिनिधि खटिएका थिए।
अब दोस्रो र तेस्रो चरणका मतदान क्रमशः जनवरी ११ र जनवरी २५ मा हुनेछन्।
यस चुनावले राष्ट्रव्यापी ६९२ निर्वाचन क्षेत्रमा उल्लिखित तीन संसदहरूको सिटका लागि प्रतिस्पर्धामा उत्रिएका ५७ राजनीतिक दलका लगभग ५ हजार उम्मेदवारको छिनोफानो गर्नेछ।
निर्वाचन आयोगका अनुसार मुलुकभर २१ हजार ५१७ मतदान केन्द्र तोकिएका छन्।
तीनै चरणका मतदान सकिएपछि अन्तिम निर्वाचन परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यसअघि म्यान्मारमा पछिल्लोपटक सन् २०२० नोभेम्बरमा आम निर्वाचन भएको थियो।
Shares

प्रतिक्रिया